एजेन्सी । अमेरिकी तल्लो सदनकको प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको एसिया भ्रमणप्रति चीनले आपत्ति जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाव लिचियानले पेलोसी ताइवान गए चूप लागेर नबस्ने प्रतिक्रिया दिएका हुन् ।
सभामुख पेलोसी दक्षिण पूर्वी एसियाली देशहरुको भ्रमणको क्रममा सिंगापुर आएपछि चीनको चेतावनी आएको हो । पेलोसीले ताइवान भ्रमण गर्ने तालिका सार्वजनिक भएको छैन ।
अमेरिकी तथा ताइवानी सञ्चार माध्यमहरुले पेलोसी कुनै पनि बेला ताइपेइ पुग्ने दाबी गरेका छन् ।
प्रवक्ता चावले पेलोसीले ताइवान जाने जिद्दी गरे गम्भीर परिणाम भोग्नुपर्ने बताए । उनले कस्तो खाले गम्भीर परिणाम भन्ने स्पष्ट पारेका छैनन् ।
चीनले सार्वभौमिकता रक्षाका लागि जस्तोसुकै कदम चाल्ने जनाएको छ । आफूहरु पूर्ण तयारी अवस्थामा रहेको र जनसेना चूपचाप नबस्ने उसको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले भने पेलोसी ताइवान पुगेमा चीनले ताइवान आसपासको क्षेत्रमा सैन्य कारबाही गर्नसक्ने जनाएको छ ।
क्षेप्यास्त्र आक्रमण वा ताइवान आसपास ठूलो संख्यामा वायु तथा जलसेना तैनाथ गर्नसक्ने उसको भनाइ छ ।