एजेन्सी। अमेरिकी र चिनियाँ राष्ट्रपतिहरूबीच दुई घण्टा लामो टेलिफोन संवाद भएको छ ।
अमेरिकी राष्ट्रपति जोड बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच भएको कुराकानीमा ताइवानको विषयलाई लिएर दुबैले एक अर्कालाई चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडनले ताइवानमाथि हस्तक्षेप गर्नेएक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन् ।
उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन् ।
बेइजिङले भने राष्ट्रपति सीले बाइडनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सम्झाएको र आगोसँग खेल्ने मान्छे जल्ने चेतावनी दिएको जनाएको छ ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको हल्लापछि अमेरिका र चीनबीच तनाव थप बढेको छ ।
दुई नेताबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे पनि कुराकानी भएको छ ।
ह्वाइट हाउसका अनुसार दुई नेताबीच जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा पनि छलफल भएको छ ।
ह्वाइटहासउले वार्ता मत भिन्नताहरू व्यवस्थापन र चासो मिल्ने ठाउँमा सहकार्य गर्ने प्रयासको एक अंग भएको जनाएको छ ।
चीनले दुई नेताका धेरै चासोहरू मिलेको जनाएको छ । बाइडेन प्रशासनले चीनलाई प्राथमिक प्रतिद्वन्द्वी र गम्भीर दीर्घकालीन चुनौतीको रूपमा हेरेको भन्दै आलोचना गरेको छ ।
यसअघिका राष्ट्रपति ट्रम्पको कार्यकालमा चिनियाँ सामानको आयातमा लगाइएको कर अन्त्य गर्ने विषयमा भने दुई नेताबीच कुरा नभएको बताइएको छ ।