नेपालमा मनसुनले प्रवेश गर्ने तयारी गर्दै गर्दा झाडापखाला लागेर परामर्श लिनेको सङ्ख्या पनि केहि दिन ह्वात्तै बढेको छ। झाडापखाला संक्रामक अथवा गैर सङ्क्रामक रोगको कारणले हुने गर्दछ। मनसुन सिजनमा विशेषतः झाडापखाला सङ्क्रमणहरूकै कारणले बढी हुने गर्दछ। ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा जस्ता सङ्क्रमणहरू नेपालमा झाडापखाला गराउन मुख्य कारक मानिन्छ।यसमा पनि हैजा (ब्याक्टेरिया) बढी घातक मानिन्छ।लेखक झन्डै दुई दशक अगाडी जुनियर मेडिकल अधिकृत भई यस अस्पतालमा सेवारत हुँदा मनसुन सिजनमा घण्टा पिछै नै औसतमा ३० देखि ४० हैजाका बिरामीहरु अस्पताल भर्ना हुने गरेको देखेको छ।दश वर्ष अगाडिको तथ्याङ्क हेर्ने हो भने हैजा जुलाई-अगस्त महिना तिर बढी देखिने गरेकोमा सन् २०१८-२०१९ सम्म आइपुग्दा भने महिना सिफ्ट भएर मे-जुन तिर सरेको देखिन्छ अर्थात् अबको कुनै पनि समय हैजाको जोखिम/देखिन सक्ने सम्भावना देखिन्छ।
हैजा “भिब्रियो कोलेरा” नामक ब्याकटेरियल सङ्क्रमणको कारणले हुने गर्दछ।”भिब्रियो कोलेरा” सङ्क्रमण भएको पानी वा खानेकुरा मार्फत हैजा फैलने गर्दछ। सङ्क्रमण भएको १२ घण्टा देखि ५ दिन सम्ममा लक्षणहरू देखिने गर्दछ। दश मध्ये एक सङ्क्रमितमा कडा हैजा हुने गर्दछ।प्रचुर मात्रामा चौलानी पानी (चामल पखालेर निकलेको पानी जस्तो) जस्तो दिसा हुनु, बान्ता हुनु, पेट तथा खुट्टाका मंशपेशिकाहरु बाउडिनु, बेचैन हुनु यसका प्रमुख लक्षणहरू हुन् भने बिरामीमा मुख सुक्खा हुने, मुटुको धड्कन बढ्ने, रक्तचाप घट्ने र छाला तान्दा पूर्ववत् अवस्थामा ढिला फर्कने जस्ता समस्याहरू पनि देखिने गर्दछन्। मिर्गौला फेल हुने जस्ता जटिलता देखिने सक्दछ भने उपचार नपाए बिरामी केहि घण्टामा नै अचेत भई मृत्यु समेत हुन सक्दछ। कडा हैजाका बिरामीले समयमा नै उपचार नपाए मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्दछ।कतिपय हैजाका बिरामीले लक्षणहरू नदेखाए पनि सङ्क्रमण भएको १ देखि १० दिनसम्म हैजाका जीवाणुहरू प्रसारण गरिरहेको हुन सक्दछ।
हैजा विशेषतः सफा तथा सुरक्षित पानीको अभाव र व्यक्तिगत सरसफाइको कमीले नै फैलने गरेको पाइन्छ। गाउँघर तिर पानीको स्रोत साझा हुने र स्रोतमा हैजाको जीवाणु मिसिदा प्रकोपको रूप लिने गरेको विगतका अनुभवहरूले देखाउँदछ । गतवर्ष कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका तीन वडामा हैजाका प्रकोप देखिएको थियो। खानेपानीमा हैजाका जीवाणु मिसिएर त्यो प्रकोप फैलिएको आशङ्का गरिएको थियो। काठमाडौँमा पनि वर्ष दिन जस्तो बिराएर हैजा देखिने गरेको छ। पछिल्लो केहि वर्ष यता घर, कार्यालय, विद्यालय वा अरू ठाउँहरूमा जारको पानी पिउनको लागि व्यापक प्रयोग हुने गरेको छ।तर खास गरी ब्रान्डको नाम स्पष्ट नभएका जारका पानी पिउनाले हैजा फैलिएको प्रशस्त उदाहरणहरू लेखकसँग छ। वास्तवमा, लेखकले नै पहिलो पटक यस्ता पानीको प्रयोग गर्दा काठमाडौँमा हैजा फैलिएको जानकारी सार्वजनिक गरेको थियो। तर त्यो बेला धेरैले विश्वास नै नगरेको अनुभव लेखकसँग छ। तर त्यसको केहि वर्ष पछि नाष्टले (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान) बजारमा पाइने कतिपय जारका पानीको परीक्षण गर्दा कोलिफर्मको मात्र अत्यधिक भएको प्रमाणित गरेको थियो।तसर्थ जारमा राखेका पिउने पानीको शुद्धताको बारेमा पनि ध्यान दिन अति जरुरी हुनेछ।
हैजाको सङ्क्रमण विशेषतः वृद्ध, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई कडा हुने गर्दछ। तर विभिन्न अनुसन्धानहरूबाट देखिएको चाखलाग्दो नतिजाहरूले “ओ” रक्त समूह भएकाहरूलाई पनि हैजा कडा हुनसक्ने देखाएका छन्। तसर्थ हैजा फैलिएको ठाउँमा विशेषत “ओ” रक्त समूह भएकाहरूमा लक्षणहरू देखिए/देखिहालेमा बेवास्ता गर्नु हुँदैन र सकेसम्म तुरुन्त उपचार गरिहाल्नु पर्दछ।तर यसको मतलब अरू रक्त समूह भएकाहरूलाई हैजा कडा हुँदै हुँदैन भन्न भने खोजिएको होइन।
हैजाको उपचार जति सक्दो चाँडो गर्न सक्ने पूर्ण स्वस्थ भइन्छ । यसको उपचार कुनै पनि स्वस्थ केन्द्र वा अस्पतालबाट सहजै गर्न सकिन्छ। तर “उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम” भने जस्तै हैजा नै नलागोस् भन्नको लागि खानेकुरा, पानी तथा व्यतिगत सरसफाइमा विशेष ध्यान दिनु पर्दछ। हैजा विरुद्धको खोप पनि भएकोले हैजाको उच्च जोखिम पहिचान गरी त्यहाँ बसोबास गर्नेहरूलाई खोप उपलब्ध गराई दिनु पर्दछ।किनभने सबै गाउँघरतिर स्वस्थ केन्द्रको पहुँच सहज नहुन पनि सक्दछ र केहि घण्टा भित्र उपचार नपाए सङ्क्रमितको मृत्यु समेत हुन सक्दछ।