अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छन् । सोमवार चुच्चेपार्टीमा रहेको इम्पेरियल बैंक्वेटमा आफ्ना निकट पारिवारिक सदस्यहरुको उपस्थितिमा आँचल र उदिपले औंठी साटेका हुन् । गएको एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरु यही फागुन २९ गते बैबाहिक जीवनमा बाँधिने बताइएको छ । तर, यसको जानकारी आँचलले दिएकी छैनन् ।आँचल र उदिपको विवाह बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा हुने जानकारी प्राप्त छ । त्यस्तै, फागुन ३० गते उनीहरुले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेका छन् । फेसबुकको माध्यमबाट यी दुईको एकअर्कासँग चिनजान भएको थियो । र, फेसबुकबाटै प्रेममा डुबेका थिए । अभिनेत्री आँचल आफूलाई उदिपको केयरिङ गर्ने बानीले कायल बनाएको बताउँछिन् । जीवनको दोस्रो अध्याय सुरु गर्न लागेकी अभिनेत्री आँचल शर्माले विवाहपछि पनि चलचित्र अभिनयमा सक्रिय रहने बताउँदै आएकी छन् । उनले गएको महिनादेखि विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । हालै उनले ‘झिँगेदाउ’ नामक चलचित्रको छायांंकन भ्याएकी थिइन् । विवाहपछि उनले ‘दुई रुपैयाँ’ टिमको ‘डामाडोल’ नामक चलचित्र गर्नेछिन् ।