चिनियाँ युवतीलाई कोरोना भाइरस बोकेको भनेर आरोप लगाउनेविरुद्ध जाइलाग्न खोज्दा एक भारतीय युवतीमाथि निर्घात कुटपिट भएको छ ।
प्रशिक्षार्थी वकिल (ट्रेनी लयर) मिरा सोलान्की आफ्नो २९ औं जन्मदिन मनाउन लण्डनको बर्मिङ्घमस्थित एना रोचा बार र ग्यालरीमा पुगेकी थिइन् ।
केही केटाहरुको निशानामा पर्दा मिरा आफ्नी २८ वर्षे साथी म्यान्डी ह्वाङ्गसँग ग्यालरी भित्रै थिइन् ।
केटाहरुले बारम्बार दुर्व्यवहार गरेपछि मिरा र उनका साथीहरु त्यहाँबाट निस्किएका थिए । तर उनीहरु तीनजनालाई एक व्यक्तिले फेब्रुअरी ९ तारिखमा आइतबारको बिहान २ बजे पछ्याए । मिराले भनिन्, ‘म मेरा चिनियाँ साथीसहित केही महिला र पुरुष साथीसँग बर्थडे ड्रिङ्क्स खाइरहेको थिएँ ।’
‘त्यहाँ केही पुरुष थिए । तीमध्ये एकजना पटकपटक म भएठाउँ आएर ममाथि दुर्व्यवहार गर्न थाले । म एक भारतीय महिला भएकोले विभिन्न जातका युवा–युवतीलाई साथी बनाएकोमा उनलाई समस्या भएको जस्तो देखिन्थ्यो,’ उनले सन्डे मर्करीलाई भनिन् ।
मिराले भनिन्, ‘हामीले उनलाई वास्ता नगर्न चाहेका थियौं । उनले एकजना मेरा साथीलाई थुक्न खोज्दासमेत हामी चुप बस्यौं ।’
‘रात समाप्त हुनै लाग्दा हामी तीनजना युवतीमात्रै बाँकी थियौं । हामीसँग मेरा चिनियाँ साथी म्यान्डी पनि थिइन् ।’
उनी थप्छिन्, ‘ती व्यक्ति पुनः आए । उनले हामीलाई निकै रुष्ट व्यवहार गरे । हामी त्यहाँबाट निस्किएपनि उनले हामीलाई पछ्याए । ’
‘तर ती व्यक्ति मेरा चिनियाँ साथीसँग निकै रिसाए । उनलाई अश्लील शब्द प्रयोग गरेर गाली गर्न थाले ।’
उनले भने, ‘तँ यो कोरोनाभाइरसलाई आफ्नै देशमा लैजा ।’
उक्त व्यक्तिको यस्तो अभिव्यक्तिपछि मिरालाई निकै रिस उठेको र उनले ती व्यक्तिलाई चुप बस्न भन्दै धकेलिन् ।
‘उनले मलाई टाउकोमा मुक्का हाने, म भुईंमा बजारिएँ र बेहोस भए,’ मिराले भनिन् ।
एम्बुलेन्स बोलाइयो । एक प्रत्यक्षदर्शीले भनिन्, ‘मैले जे देखेँ त्यो निकै तुच्छ थियो । समग्र रुपमा त्यसलाई एउटा आक्रमण भन्न सकिन्छ ।’
मिराले हर्टल्याण्ड अस्पतालमा ६ घण्टा बिताइन् र एक हप्तासम्म अफिस जान सकिनन् ।
उनले भनिन्, ‘उनको आक्रामक व्यवहार र खतरनाक शब्दले म निकै डराएकी थिएँ ।’
‘म बेहोस भइरहेका बेला उनले मेरा साथीहरुलाई पुनः धम्काउन रोकेनन् त्यसपछि त्यहाँ भएका साथीहरुसँग निकै शान्त भएर आफ्नो बाटो लागे,’ उनले थपिन् । एजेन्सी