समाचार बन्न नसकेको समाचार
केन्द्रीय सदस्यमा विजयी भएपछि सभापतिमा पराजित डा. शेखर कोइरालालाई फोन गरियो । फोन उठेन । विचारको लडाईमा फरक कित्ता समाएपछि रिसाएका डा. कोइरालाले आएको फोन फर्काएनन् । हिजो समान विचारको यात्रामा यो स्थिति थिएन ।
त्यसपछि विजयी नेता महोदय अन्य शीर्ष नेताको घरघरमा गएर आर्शिवाद लिने क्रममा पुगे । डा. कोइराला घरमा थिएनन् । उनले अर्कोपटक फोन गरे । यसपटक फोन उठ्यो र, आफु चितवन भएको जानकारी दिए । नतिजा आएको यतिका दिनसम्म नेता महोदयबीच नै बोलचाल भएको छैन ।
संचारकर्मीले अमृत अर्याललाई सोधे, ‘सभापतिमा हारेका डा. कोइरालालाई सहानुभूति प्रकट गर्नुभयो ? वा उहाँले तपाईं केन्द्रीय सदस्यमा विजयी भएकोमा बधाई दिनुभयो ?’
अर्यालले जवाफ दिए, ‘छैन, तर म आज (बुधबार) कोइराला निवास जान्छु ।’ अर्याल गए वा गएनन् थाहा भएन तर, यसखाले संकट छ कांग्रेसमा । विचारको लडाई महाधिवेशनमा सकिएको छ तर, एउटा यस्तो भाइरस तत्वले नेताबीच खाडल खडा गरेको छ मिलाप होइन नमिल्ने वातावरण नै तयार गरिरहेकोछ । कार्यकर्ता तहमा विचारको लडाई सकिएकाले अब एक भएर एकतावद्ध कांग्रेस अभियानमा जुट्ने एउटा नारा हुनसक्छ तर, व्यवहारमा त्यो देखिएको छैन ।
मन अझै फाटेको छ । कांग्रेसमा एकताको सन्देशका लागि डा. कोइराला र भीम पराजुली एउटै मञ्चमा देखिनुपर्छ । अर्याल र कोइरालाले एउटै कार्यक्रममा एकताको भाषण गर्नुपर्छ । तर, यो सम्भव देखिएको छैन । अरू त अरू भातृ संस्थाहरूमा पनि गुटकै खेल पो जारी छ । मेरो र तेरो भन्ने खेल भइरहेको छ । विधान र नियम एकातिर अनि काम भने अर्कै तिर…