बलिउड अभिनेत्री किशोरी बलालको निधन भएको छ । बलालको मंगलबार राती निधन भएको भारतीय मिडियाले जनाएका छन् । अभिनेता शाहरुख खान अभिनित फिल्म ‘स्वदेश’मा कावेरी आमाको भूमिका निर्वाह गरेकी बलाल उक्त भूमिकाबाटै चर्चित भएकी थिइन् ।
उनको भारतको बेंगलुरुस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ८२ वर्षकी बलाल बुढ्यौली उमेरका कारणले लाग्ने बिभिन्न रोगबाट पीडित थिइन् । बलालले १९६० मा कन्नड फिल्म ‘एवालेन्था हेन्डाथी’ बाट फिल्म अभिनयमा प्रवेश गरेकी थिइन् । बलालले ‘काही’, ‘हानी हानी’,‘ सूर्य कान्ति’ जस्ता चर्चित फिल्ममा समेत काम गरेकी थिइन् ।
उनले सहायक भूमिकामा ७५ बढी फिल्म अभिनय गरेकी छन् । बलालको निधनप्रति दुःख व्यक्त गर्दै फिल्म ‘स्वदेश’ का निर्देशक आशुतोष गोवारिकले मन निकै दुःखी बनाएको बताएका छन् । उनले ट्विटमार्फत हार्दिक श्रद्धाञ्जली समेत ब्यक्त गरेका छन् ।