ढुवानी खर्च झण्डै आधा सस्तो पर्ने भएपछि नेपाल आयल निगमले बरौनी छाडेर सिलगुडीको बाटो समाएपछि इन्धनको अभाव हुने देखिएको छ ।
सिलगुडी भण्डारणमा प्रर्याप्त इन्धन नभएकाले पनि यो समस्या देखिएको छ । त्यहाँको डिपोमा पार्किङ नहुँदा काकडभिट्टामा गाडी राख्नुपर्ने, हरेक निर्देशन पालना गराउनेबारे बाध्यकारी नियम बनाउन थालेको आरोप ढुवानी व्यवसायीहरूले लगाएका छन् ।
विराटनगरस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयले बरौनीबाट इन्धन आयात खारेज गर्दै पश्चिम बंगालको सिलिगुढीबाट असार १८ गतेदेखि आयात गर्न थालेको हो । यो आयातको निर्णयलाई ढुवानी व्यवसायीले स्वागत गरे पनि पछिल्लो समय धेरै दुःख पाउन थालेको उल्लेख गरेका छन् ।
सिलगुडीभन्दा बरौनीको दूरी ४५० किलोमिटरभन्दा बढी कम पर्छ । यसबाट निगमलाई मासिक मोटो रकम बचत हुने ठानिएको थियो तर, सिलगुडीमा प्रर्याप्त इन्धन नदिनेलगायतसमस्या भएको ढुवानी व्यवसायीहरूले बताएका छन् । सिलगुडी डिपो पश्चिम बंगालकै व्यस्त इन्धन व्यवस्थापन गर्ने ठाउँ हो । यसले छिमेकी सबै राज्य र भुटानसम्म इन्धन आपुर्ति गर्दै आएको छ ।
यस क्षेत्रका लागि बरौनीबाट दैनिक २५ गाडी डिजल र १५ गाडी पेट्रोल आयात हुन्थ्यो ।
एक ढुवानी व्यवसायीले न्यू सृष्टि दैनिकलाई भने, ‘सिलिगुडीमा पार्किङ छैन, इन्धन पनि सरल तरिकाले ढुवानी हुन्न, यसले हामी ढुवानी व्यवसायीलाई नोक्सान पारेको छ ।’ ढुवानी व्यवसायीले सिलगुडीबाट इन्धन ल्याउने हो भने आफुहरूले ढुवानी नगर्ने चेतावनी दिएका छन् । बरौनीलाई छाड्ने र सिलगुढीबाट इन्धन ल्याउने निर्णय सच्याइएन भने अभाव देखिने उनीहरूको भनाई छ ।
समयमा इन्धन आएको छैन र, पम्पवालाहरूले ‘डिमाण्ड’ बढी गर्न थालेका छन् । पछिल्लो समय काकडभिट्टामा पर्खेर दैनिक सरदर १५ गाडीमात्र इन्धन सिलिगुडी डिपोले दिने गरेको छ । जहाँबाट विराटनगरमात्र होइन सिक्किम, मेघालय, असमका केही भाग र भुटानलगायतका क्षेत्रमा इन्धन व्यवस्थापन हुन्छ ।
पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष ध्रुवप्रसाद सिग्देलले सिलगुडीको भर पर्ने हो र बरौनीलाई बाइपास गर्ने हो भने प्रदेश नं. १ मा अत्यावश्यकीय इन्धनको चरम अभाव हुने बताए । नेपाली इन्धन ढुवानीकर्तालाई सिलगुडीले धेरै तनाव दिन थालेको जानकारी दिदैं सिग्देलले न्यू सृष्टि दैनिकलाई भने, ‘इन्धन बोक्ने साधनको हुट काट्ने, रंग लगाउनेलगायतका निर्देशन आउन थालेको छ, यसबाट हरेक गाडीलाई कम्तिमा १० लाख भार थपिन्छ, यो रकम कसले बेहोर्ने हो, हामीलाई धेरै समस्यामा पारिएको छ ।’
सिलिगुडी डिपोबाट इन्धन आपूर्ती सहज बनाउन र ढुवानी व्यवसायीले आयल निगमलाई ध्यानाकर्षण गराएका छन् । तर, यसबारे सरकारी स्तरबाट कुनै गहकिलो प्रयास भएको छैन ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।