५० को दशकमा मधु मरासिनी विराटनगरमा थिए झण्डै चार बर्ष । ०५४ देखि ०५८ सम्म लामो समयसम्म उनले यहाँ रहेर काम गरे ।
यो झण्डै चार बर्षमा उनले आफ्नो कार्यकाल सुरू हुनु केहीअघि मात्र लागू भएको मूल्य अभिवृद्धि कर भ्याट कार्यान्वयनको जिम्मा महत्वपूर्ण ढंगले निभाएका थिए । भ्याट कार्यालयमा कार्यरत रहँदा यस क्षेत्रको आर्थिक समस्या के हो ? उनले नजिकबाट नियाँलेका छन् । त्यसैले नयाँ प्रभावशाली अर्थ सचिवका रूपमा निजी क्षेत्रले उनलाई उहाँका समस्याबारे केही बताइरहनु पर्दैन ।
नवलपरासीका रैथाने मरासिनीले यहाँ बस्दा निजी क्षेत्रसित मिलेर काम गरे र, हरेक बर्ष लक्ष्यभन्दा धेरै राजश्व संकलन गरे । मरासिनीलाई यहाँका उद्योगी, व्यवसायीबारे थाहा छ, यहाँको समस्यालाई नजिकबाट हेरेका छन् ।
‘उहाँको खुबी भनेको निजी क्षेत्रसित मिलेर काम गर्ने हो’ उद्योगी एवम् मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुले न्यू सृष्टि दैनिकलाई भने, ‘मोरङसित उहाँ परिचित हुनुहुन्छ त्यसैले उहाँसित काम गर्न सहज हुनेछ ।’
काठमाडौंको अर्थ मन्त्रालय ‘व्यूरोक्रयाट्स’ जहिल्यै सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्र र यहाँको निजी क्षेत्रसित अनुदार रहँदै आएको छ । यहाँका उद्योगीहरू लगभग हरेक बर्ष एउटै समस्या ‘कपी एण्ड पेष्ट’ गरेर ‘ङ¥याङङुरूङ’ गर्छन् । मरासिनीको बुझाई के छ भने आर्थिक क्षेत्रले अब समस्या उठानमा कुनै ‘ल्याङल्याङ’ नै गर्नु पर्दैन । काठमाडौंको के बुझाई छ भने मोरङ–सुनसरीका उद्योगी व्यापारी पलपलमा कराउँछन, एक कानले सुन्ने हो, अर्को कानले उडाउने हो ।
भ्याट कार्यान्वयनको कठिन समयमा उनी यहाँ रहँदा कसैलाई बिझाएनन् । उनले सबैलाई रिझाएर काम गरे । मधुको ठाउँमा कुनै आक्रामक कार्यालय प्रमुख आएको भए त्यो बेला भ्याट कार्यान्वयन हुने थिएन । आर्थिक क्षेत्रले त्यो बेला सत्तामा रहेको कांग्रेसको समर्थनमा बुइँ चढेर सडक आन्दोलन र संघर्षलाई तताएको थियो ।
कांग्रेस सत्तामा भएको त्यो समय, गिरिजाप्रसाद कोइरालाको दवदवा भएको बेला मरासिनीले सबैलाई मिलाएर हिडे । त्यसैले त लामो समय उनी अर्थ मन्त्रालयको वैदेशिक महाशाखा, योजना तहमा रहेर काम गरे । कोइराला हरेक पटक विराटनगर आउँदा मरासिनी कोइराला निवासमा पुग्थे । कोइरालाले मरासिनीप्रति सदैव सद्भाव राखे । प्रशासन तहमा रहेका शम्भु मरासिनी मधुका भाइ हुन जो मोरङ प्रशासनमा रहेर काम गरिसकेका छन् ।