ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रवार बाँडफाँट हुने भएको छ ।
उक्त कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार दिउँसो १२ः३० बजे शेयर बाँडफाँट हुने भएको हो ।
फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
पछिल्लो तथ्यांक अनुसार १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता कम्पनीको आईपीओ खरिदको लागि आवेदन परेको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाउँछन् ।
यसरी हेर्दा करिब १२ लाख १० हजार जनाले शेयर नपाउने देखिन्छ ।
हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आईपीओ वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।