हिमालपारीको जिल्ला मुस्ताङमा मंगलबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै जोखिम न्यूनीकरणका लागि सुरक्षा व्यवस्था मजबुत बनाउन प्रयास थालिएको छ । अत्यावश्यक बाहेकका प्रवेशलाई मुस्ताङ प्रवेश गर्ने नाका घाँसाबाटै फर्काइएको छ ।
सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा गत हप्ता १ जना महिलामा संक्रमण पुष्टि भएसँगै अत्यावश्यक बाहेकका अवस्थामा प्रवेश रोकेको मुस्ताङमा मंगलबार थप दुई जनामा पुष्टि भएसँगै सुरक्षा सतर्कता थप मजबुत बनाउन लागिएको छ । घरपझोङ गाउँपालिका–३, का ५२ वर्षीया महिला र थासाङ गाउँपालिका–५ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गत कार्तिक १५ गते स्याम्पल संकलन गरी पठाइएकोमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार दिउँसो संक्रमण पुष्टि भएको विज्ञप्ति मार्फत जनाएको स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार घरपझोङ गाउँपालिका–३ जोमसोमकी संक्रमित र सांग्रिला बिकास बैंकका कर्मचारीको कन्ट्याक टे«सिङमा परेका ३३ र एक जना बिरामीको स्याम्पल पठाइएकोमा सांग्रीलाका कर्मचारीको क्लोज कन्ट्याक भएका र बिरामी महिलामा संक्रमण पुष्टि भएको हो । दुवै जनालाई हाल आइसोलेसनमा राखिएको छ भने अन्य सुरक्षा व्यवस्था कडा गरीएको भण्डारीले बताउनुभयो । त्यस्तै उपल्लो मुस्ताङको चराङका ७६ वर्षीय पुरुष पनि पोखरामा उपचारका क्रममा रहेकोमा कोरोना पुष्टि भएको आफूले सुनेको भण्डारीले बताउनुभयो । उहाँका अनुसार अहिले मुस्ताङमा ३ जना सक्रिय संक्रमित छन् भने एक जना आज मंगलबार पुष्टि भएको भनिएका पुरुष पोखरामा छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा गत कार्तिक १४ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक कार्यबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको थियो ।
मुस्ताङका पाँच वटा विशेष अवस्था रहेकोले अन्य जिल्लाबाट आवतजात नगर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा भ्यान्टीलेटर नभएको, कच्ची सडकबाट उद्धारमा समस्या हुनसक्ने, जाडो बढिसकेकोले संक्रमण थप बढ्न सक्ने, कागबेनी तथा मुक्तिनाथ जस्ता धार्मिक क्षेत्र बन्द रहेको र हवाइ उद्धारमात्रै असभ्भव प्राय भएकोले अन्य जिल्लाबाट अत्यावश्यक बाहेक प्रवेश नगर्न अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।