कंगना रनौटविरुद्ध मानहानीको अर्को एउटा मुद्दा दर्ता भएको छ । यसपटक गीतकार जावेद अख्तरले कंगनामाथि मुद्दा दर्ता गरेका हुन् । भारतीय मिडियामा प्रकाशित एक रिपोर्टका अनुसार अख्तरले कंगनाको एउटा बयानमाथि आपत्ति जनाएका थिए । कंगनाले जावेद अख्तरले उनलाई घर बोलाएर धम्काएको र ऋतिक रोशनसँग माफी माग्न भनेको दाबी गरेकी थिइन् ।
रिपोर्टमा दाबीः जावेद अख्तरले धम्की दिएका छैनन्
बलिउड खबरको वेबसाइट स्पटबोयको रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै जावेद अख्तरले कंगनालाई धम्की नदिएको बताइउको छ । अब यो मामिलामा अदालतसम्म पुगिसकेको छ र जावेद अख्तर लामो लडाईं लड्न तयार छन् ।
कंगनाकी म्यानेजरले ८ महिना अघि ट्वीट गरेकी थिइन्ः
नायिकाकी बहिनी तथा म्यानेजर रंगोली चंदेलले ट्वीट गरेर जावेत अख्तरमाथि कंगनालाई धम्काएको आरोप लगाएकी थिइन् । उनले लेखेकी थिइन्, ‘जावेद अख्तर जीले कंगनालाई घर बोलाए र धम्की दिँदै ऋितिक रोशनसँग माफी माग्न भने । महेश भट्टले कंगनामाथि चप्पल फ्याँकेका थिए किनभने उनले भट्टको फिल्ममा सुसाइड बम्बरको भूमिका निभाउन अस्विकार गरेकी थिइन् । उनीहरु प्रधानमन्त्रीलाई फासीवादी भन्छन्… काकाहरु तपाईं दुबै को हो ?’
ऋतिक रोशन–कंगना रनोटको विवाद के थियो ?
कंगना सन् २००९ देखि २०१३ सम्म ऋितिकसँग सम्बन्धमा रहेकी थिइन् । ब्रेकअपपछि दुबैको विवाद अत्यधिक चर्चामा आयो । सन् २०१६ मा एक शोमा कंगनाले ऋतिकलाई ‘सिली एक्स’ भनेकी थिइन् र प्रमाणको रुपमा उनीसँग ऋतिकले सम्बन्धमा रहँदा पठाएको सबै मेल भएको दाबी गरेकी थिइन् । यस विषयमा ऋतिकले कंगनाविरुद्ध मुम्बई क्राइम ब्रान्चमा ऊजुरी दर्ता गरेका थिए ।
कंगनाविरुद्ध गत महिना ३ मुद्दा दर्ता भएका थिए
अक्टोबरमा कर्नाटकको तुमकुरमा कंगनाविरुद्ध मुद्दा दर्ता भएको थियो । उनीमाथि किसानलाई अपमान गरेको आरोप लागेको थियो । त्यसपछि मुम्बईमा दुई मुद्दा दर्ता भए । यसमा कंगनामाथि धर्मको नाममा घृणा फैलाएको र अदालतको अपमान गरेको आरोप लागेको थियो ।