बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको करियरको सुरुवाती फिल्महरुमध्येमा ‘हम दिल दे चुके सनम’ ले उनको करियरलाई नयाँ उचाई मात्र दिएन उनको व्यक्तिगत जीवनमा पनि परिवर्तन ल्याइदियो ।
उनको फिल्म सुटिङको क्रममा सलमान खानसँग नजिकिने मौका समेत जुर्यो । सलमान र ऐश्वर्याको प्रेमकहानीले चर्चा पाउन थाल्यो । ऐश्वर्या रायले सलमान खानको परिवारसँग धेरै समय बिताउन थालिन् । ऐश्वर्या राय सलमानको परिवारको हरेक कार्यक्रममा देखिन थालिन् ।
भारतीय पत्रकार बिस्वदीप घोषको किताब ‘हल अफ फेम ऐश्वर्या राय’ का अनुसार एक रात सलमान खानले आफ्ना सम्पूर्ण नजिकका साथीहरुलाई पार्टीमा बोलाए र उनले कुनै खास घोषणा गर्ने समेत बताए । सबैले सलमान र ऐश्वर्याको विवाहको घोषणा हुने अनुमान लगाए । तर, पार्टीमा सलमान र ऐश्वर्या दुवै अनुपस्थित भए ।
सलमान र ऐश्वर्याको प्रेमले जति चर्चा पाइरहेको थियो । उति उनीहरुको सम्बन्धमा तुफान आउन सुरु भइसकेको थियो । एकदिन सलमान आधारातमा ऐश्वर्याको घर पुगे । अनि ठूलो आवाजमा ढोका ढक्ढक्याउन थाले । तर, ऐश्वर्याले ढोका खोलिनन् । सन् २००१ नोबेम्बरको एक रात ऐश्वर्याको ढोकामा उभिएका सलमान निकै रिसाएका थिए । उनले ऐश्वर्यालाई अपार्टमेन्टको छतमा गएर हामफाल्ने धम्की समेत दिएपछि ऐश्वर्याले ढोका खोले ।
तर, ऐश्वर्याका पिता कृष्णराज रायले सलमानविरुद्ध प्रहरीमा उजुरी समेत दिए ।
सलमान निकै रिसाहा थिए । उनका विभिन्न बानीका कारण ऐश्वर्याले सन् २००२ को सेप्टम्बर २७ मा टाइम्स अफ इन्डियालाई दिएको एक अन्तरवार्तामा सलमानसँग ब्रेकअफ भएको घोषणा गरिन् ।