शनिबार राति भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ । भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावाद घर भई हाल भक्तपुर नगरपालिका- १ ईटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिव हुसैनको हत्या भएको हो ।
हत्यामा उनीसँगै काम गर्ने भारतीय नागरिक २३ वर्षका सलमान खान र १९ वर्षका सानु अन्सारी संलग्न रहेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिएपछि कोठामा खानतलासी गर्दा दुबै जनाको कोठाबाट रगत लागेको लुगा र जुत्ता फेला परेको प्रहरीले जनाएको छ ।
गर्लफ्रेन्डको विषयमा विवाद
कात्तिक ८ गते उनीहरु तीनैजना संगै बसेर मदिरा सेवन गरेका थिए । राति करिब ९ बजे कारखाना फर्किने क्रममा भक्तपुर नगरपालिका २ ईटापाकोस्थित नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफेन्डको विषयमा शाहिव हुसैनसँग विवाद भएको थियो ।
त्यस क्रममा शाहिव हुसैनलाई सानु अन्सारी र सलमान खान दुबै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरी नरकट घारी खोल्सामा फालेको देखिएको डीएसपी गिरीले जानकारी दिए ।
आइतबार विहान ७:५० बजे भक्तपुर नगरपालिका- २ ईटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा मानिस मृत अवस्थामा भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापाको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेको थियो ।
शव हेर्दा टाउको र अनुहार चिन्न नसकिने गरी क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय अपराध महाशाखाको टोली र तालिमप्राप्त २ वटा कुकुर पनि लगी अनुसन्धान गरिएको थियो ।