सुर्खेत जिल्ला अदालतमा कार्यरत एकजना कर्मचारीलाई कोरोना देखिएपछि अदालत सिल गरिएको छ । अदालतको मुद्दा फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि बुधबारदेखि अदालत सिल गरिएको हो । अर्को सूचना जारी नहुँदासम्म अदालतको सेवा बन्द गरिएको श्रेस्तेदार यामलाल बाँस्कोटाले बताए ।अत्यावश्यक सेवा म्याद थप, पक्राउ पुर्जी, बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य सेवाहरू बन्द गरिएको बाँस्कोटाले जानकारी दिए । बाँकी कर्मचारीहरूको स्वाब परीक्षण गरेर रिपोर्ट आएपछि बन्द सेवाहरू सुचारु हुने उनको भनाइ छ ।