कोरोनाभाइरसको महामारीले मास्कको प्रयोगलाई अनिवार्य बनाइदिएको छ । भाइरसको संक्रमण रोक्ने एक प्रमुख उपाय मध्येको एक हो मास्कको प्रयोग । कोरोनाभाइरसको अहिलेसम्म कुनै खोप तथा अचुक औषधि छैन त्यसैले पनि यसबाट बच्ने उपयुक्त उपाय भनेको जनस्वास्थयका नियमहरुको कठोर पालना नै हो । तीमध्ये पनि सबैभन्दा मुख्य सामाजिक दुरी कायम गर्नु अनि मास्कको उचित प्रयोग गर्नु नै हो ।
नियमित सावुनपानीले हात धुने, मास्कको सही प्रयोग, स्यानिटाइजरको प्रयोग, चस्माको प्रयोग, भौतिक दुरी (१ देखि २ मिटरसम्मको) र सरसफाइलगायतले कोरोनाभाइरसको संक्रमणबाट जोखिन सकिनेबारे जनस्वास्थ्य विज्ञ तथा चिकित्सकहरुले बारम्बार बताउँदै आइरहेका छन् । तर पछिल्लो समय मास्कको प्रयोगबारे केही भ्रमपूर्ण कुराहरु पनि बाहिर आएका छन् । जस्तोः लामो समय मास्कको प्रयोग गर्दा शरीरमा अक्सिजनको मात्रा कमी हुने र भविष्यमा अक्सिजनको कमीबाट हुने रोग बढ्ने खतराबारे । यसबारेमा कतिपय विज्ञ भनी मिडियामा प्रस्तुत गरिएका थरिथरिका व्यक्तिहरुको दावीले झनै मास्कका प्रयोगबारे आम जनतामा अन्यौल बढाउने काम गरिरहेको देखिन्छ ।
यसै सन्दर्भमा हामीले के मास्कको प्रयोगले साँच्चिकै हाम्रो शरीरमा अक्सिजनको मात्रा कमी हुन्छ हो ? भनेर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टरनल मेडिसिनका डा. अग्रज उप्रेतीसँग सोधेका थियौँ । उनले कोरोनाभाइरसका विरुद्धमा सामाजिक सञ्जालहरुमा जनचेतना जगाउने थुप्रै सामग्रीहरु प्रचार गर्दै आएका छन् ।
हाम्रो जिज्ञासाको प्रत्युत्तरमा डा. उप्रेतीले ‘त्यसमा कुनै सत्यता नभएको’ जानकारी दिएका छन् । ‘कोरोनाभाइरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेको अहिलेको अवस्थामा मास्कको प्रयोगलाई निरुत्साहित गर्ने यस्ता अफवाहको पछि लाग्नु खतरनाक हुने’ उनको कथन छ । ‘मास्कको प्रयोगले स्वास्थ्यमा हानी पुर्याउँछ भनेर आजसम्म कुनै पनि अनुसन्धानले तथ्य स्थापित नगरेको स्थितिमा त्यस्ता अफवाहको विश्वास गरेर मास्कको प्रयोगबारे भ्रममा नपर्न’ उनको सल्लाह छ ।
मास्कको प्रयोगका बारेमा फैलिएका भ्रम तथा त्यसको सत्यतथ्यबारे डा. उप्रेतीले दिएका जानकारी निम्नानुसार छन् :
आजसम्म मास्कको प्रयोगले स्वास्थ्यमा असर पर्छ भनेर कुनै पनि तथ्याङ्क बाहिर आएको छैन । मास्कको प्रयोग आज आएर मात्रै गरिएको होइन । विगतमा फैलिएका ठूला ठूला महामारीको समयमा पनि मास्कको प्रयोग भएको देखिन्छ ।
चिकित्सकहरुले पनि उपचारका क्रममा लामो समय मास्कको प्रयोग गर्नुपर्ने हुन्छ । अझ शल्यचिकित्सकहरुले त शल्यक्रियाको समयमा घण्टौं मास्क लगाएका हुन्छन् । यसबाट अक्सिजनमा कमी आएको भन्ने कुनैपनि अध्ययन अनुसन्धान बाहिर आएको छैन ।
हो, कसैकसैलाई मास्कको प्रयोग सहज नहुन सक्छ । यस्तो अवस्थामा आफ्नो अनुहारमा मिल्ने र सास फेर्न सहज हुने खालको मास्कको प्रयोग गर्नुपर्छ ।
यतिबेला, मास्क लगाउँदा हाम्रो शरीरलाई चाहिने अक्सिजनको मात्रामा कमी हुने दावी गरिएका भिडियोहरु अहिले सामाजिक साञ्जालमा प्रचारमा छन् । त्यसैगरी, लामो समय मास्क लगाउँदा हाम्रो शरीरले बाहिर फाल्ने कार्वनडाइक्साइड पूनः शरीरले लिने र यसले अर्को समस्या निम्तिन सक्ने तर्फ पनि त्यस्ता भिडियोहरुमा गराइएको पाइन्छ । तर चिकित्सा विज्ञानले भने त्यस कुरामा कुनै सत्यता नभएको बताएको छ । वास्तवमा, कुनै पनि संक्रमणबाट बच्न र वायु प्रदुषणबाट बच्न अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्छ ।
सामान्यतया कोरोनाभाइरसको साइज ०.१ माइक्रोमिटर हुन्छ र मास्कमा हुने सानासाना छिद्रा (प्वाल)को साइज ०.३–५ माइक्रोमिटर हुने भएकाले मास्कले भाइरसलाई पूर्णरुपमा रोक्न सक्छ भन्ने होइन तर यसले नियन्त्रण भने गर्छ ।
त्यसैले पनि मास्कको प्रयोगलाई स्वास्थ्य संगठनहरुले अनिवार्य रुपमा प्रयोग गर्न भनिरहेका छन् । खोक्दा वा हाँच्छ्यू गर्दा कोरोनाभाइरस एक्लै निस्किदैन त्यो त थुकको छिटाहरुसँगै बाहिर निस्कने हो । त्यसप्रक्रियामा निस्कने थुकका छिटाहरु हाम्रो आँखाले देख्दा त स–सानो आकारमा नै निस्किन्छ । तर त्यस्ता छिटाहरुको साइज ५ माइक्रोमिटर भन्दा धेरै ठूलो हुन्छ । त्यस्ता छिटाहरुलाई मास्कले सजिलै रोक्छ । यस अर्थमा पनि अहिलको संक्रमण फैलिइरहेको अवस्थामा मास्क लगाउँदा बेफाइदा होइन फाइदा नै हुन्छ ।
कुनै पनि कुराको फाइदा धेरै र बेफाइदा थोरै छ भने किन प्रयोग नगर्ने ? मास्कको हकमा पनि त्यही कुरा सत्य हो । मास्कले बाहिरी संक्रमणबाट मात्रै रोक्दैन, बरु मास्क लगाएका व्यक्ति स्वयं संक्रमित छन् भने पनि ऊबाट अरुमा संक्रमण सार्ने सम्भावनालाई न्यून पारिदिन्छ । अहिलेसम्मको विज्ञानले सिद्ध गरेको तथ्य के हो भने मास्कको सही प्रयोगले संक्रमणको जोखिमबाट बच्न सकिन्छ ।
घरबाहिर निस्किदा मास्क अनिवार्य लगाउनु पर्छ । मास्क लगाउनु अगाडि र मास्क खोलेपछि अनिवार्य सावुनपानीले हात धुनुपर्छ । घरबाहिर भीडभाडमा जाँदा वा अर्को व्यक्तिसँगको सम्पर्कमा जाँदा संक्रमण सर्न सक्छ । आफूमा संक्रमण छ भने पनि अरुलाई सार्नबाट जोगाउन सकिने भएकाले मास्कको प्रयोग गर्नु उचित हुन्छ । मास्कले सम्भावित जोखिमबाट बचाउँछ, त्यसैले यसको प्रयोगमा कन्जुस्याइँ नगरौं, हल्लाको पछि नलागौं ।
कोरोनाभाइरसको उद्गम स्थल चाइनाले मास्कको प्रयोगलाई अनिवार्य बनायो साथै जापानले पनि मास्कको प्रयोगलाई अनिवार्य गर्यो । त्यहाँका जनता अनुशासित थिए, सवैले बाहिर निस्किदा अनिवार्य रुपमा मास्कको प्रयोग गरे जसबाट आज कोरोना संक्रमण घट्यो । त्यसबाट समेत पाठ सिकेर नेपालमा पनि मास्कलाई अनिवार्य बनाउन अत्यन्त जरुरी छ ।
मास्क कतिबेला लगाउने र कतिबेला नलगाउदा हुन्छ ?
घरभित्र बसेको अवस्थामा मास्क लगाउन जरुरी छैन । तर ठूलो परिवार र संक्रमणको जोखिम छ भने दुरी कायम गर्ने र सम्भव भएको समय मास्क लगाउनुपर्छ ।
त्यसैगरी, घरबाहिर निस्किँदा भने अनिवार्य मास्क लगाउने । तपाईं कसैको सम्पर्कमा जादँै हुनुहुन्छ भने मास्क लगाएर नै कुराकानी गर्नुहोस् । तपाई कार्यालय जाँदै हुनुहुन्छ र कार्यालयमा तपाईंको क्याविन छ भने कार्यालय समयमा मास्क नलगाई बस्न सकिन्छ तर तपाईसँग अरु सहकर्मी छन् भने मास्क लगाउनुपर्छ । बाटोमा हिँड्दा पनि अरु मानिस छैन भनेर मास्क खोल्ने वा चिउडोमा मास्क लगाएर हिँड्ने काम विलकुलै नगरौं यो निकै घातक हुन सक्छ ।
कस्तो मास्क लगाउने?
सामान्यतया मास्क कस्तो लगाउने भन्नेबारे अन्यौलता देखिएको छ । कस्तो मास्कको प्रयोग गर्ने र कतिवेला गर्नेबारे भने आमनागरिक जानकार हुनुपर्छ । सामान्यतया सर्वसाधारणले सर्जिकल फेस मास्कको प्रयोग गर्नु उचित हुन्छ ।
सवैले हरेक दिन एन९५ मास्कको प्रयोग गर्न नसक्ने भएकाले सर्जिकल मास्क प्रयोग गर्नु उचित हुन्छ । सर्जिकल मास्क एकपटक प्रयोग गरेपछि विसर्जन गरिहाल्नु पर्छ । हरेक पटक मास्क फेर्न नसकेको अवस्थामा वा खरिद गर्न नसक्दा भने तिनपत्रे कटनको मास्क भए पनि प्रयोग गर्नुपर्छ ।
दैनिक सर्जिकल मास्कको प्रयोग गर्न नसक्नेले आफूसँग भएको कटनको कपडाबाट तीनपत्रे मास्क बनाएर लगाउने तथा सल, स्कार्फले भएपनि पूरा नाकमुख ढाकेर हिँड्दा भाइरस संक्रमणबाट केही हदसम्म भएपनि बँच्न र अरुलाई बचाउन सकिन्छ ।
आज, व्यक्तिगत सुरक्षाका लागि भरपर्दो साधनका रुपमा मास्कलाई विश्वले लिइरहेको बेला हामी भ्रमको पछि नलागौं । सकेसम्म सर्जिकल मास्कको प्रयोग गरौं सकिदैन भने सल, स्कार्फ वा तीनपत्रे कटनको मास्क लगाऔं ।
सर्जिकल मास्क नै किन लगाउने ?
सर्जिकल मास्कमा तीन तह हुन्छ । माथिल्लो तहलाई तरल पदार्थले भिजाउन सक्दैन र बीचको तहले साना साना कणहरुलाई पनि छेक्न सक्ने क्षमता राख्छ । र, भित्री तहले नाकमुखबाट निस्किने वाफ र छिटालाई सोस्छ । हामीले खोक्दा तथा हाँच्छिउँ गर्दा निस्कने छिटालाई बाहिर जानबाट रोक्छ । यस्तो मास्क चिकित्सकहरुले शल्यक्रियाको समयमा समेत प्रयोग गर्ने गर्दछन् । यस्तो मास्कले भाइरसलाई भित्र पस्नबाट पुरै रोकने होइन तर यदि हामीमा संक्रमण छ भने चाहिँ किटाणु बाहिर जानबाट भने रोक्छ । त्यसैले पनि सर्वसाधारणले अझ संक्रमित व्यक्तिले सर्जिकल मास्कको प्रयोग गर्नु उचित मानिएको हो ।
अर्को भनेको एन९५ मास्क हो । एन९५ मास्कले ९५ प्रतिशतसम्म बहिरी किटाणु रोक्न सक्ने क्षमता राख्ने बताइएको छ ।
एन९५ दुई किसिमको हुन्छ । एउटा भल्भ भएको र अर्को नभएको । भल्ववाला मास्क संक्रमित व्यक्तिले लगाउँदा अर्कोमा सजिलै संक्रमण सर्ने खतरा हुन्छ भने लगाउने व्यक्तिलाई भने बाहिरी किटाणुबाट जोगाउन सक्छ । महामारीको समयमा कसलाई संक्रमण छ र कसलाई छैन भन्ने नै थाहा नहुने भएकाले भल्व भएको एन९५ मास्को प्रयोगलाई उचित मानिँदैन ।
एन९५ मास्क फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुले प्रयोग गर्ने गरेका छन् भने सर्वसाधारणले पनि यो मास्कको प्रयोग गर्न सक्छन् । यो मास्क अनुहारमा टम्म मिल्ने र सूक्ष्म किटाणुहरुलाई पनि रोक्न सक्ने क्षमता भएकाले अन्य भन्दा एन९५ बढी प्रभावकारी मानिन्छ ।
हामी बाहिरी कन्ट्याकमा रहेको बेला मास्कको बाहिरी भागमा किटाणु टाँसिएको हुन सक्छ र आफ्नो नाकमुखबाट निस्किएका वाफ र छिटा पनि त्यहाँ रहेको हुनसक्छ । त्यसैले यो मास्क दैनिक एउटै प्रयोग गर्नु लाभदायक हुँदैन । र, यसलाई पानीले धुनु पनि हुँदैन । धुँदा मास्कका छिद्र बिग्रने र किटाणु सजिलै प्रवेश गर्न सक्छ ।
एन९५ मास्कलाई एकदिन प्रयोग गरेपछि राम्रोसँग हावा पास हुने स्थानमा झुण्डाएर राख्ने गर्नुपर्छ । सामान्यतः मास्कमा भाइरस टाँसिएकै छ भने पनि ७२ घण्टापछि त्यो स्वतः निश्क्रिय हुने भएकाले यसलाई पुनः प्रयोग गर्न भने सकिन्छ ।
राताेपाटीबाट टुना भट्टले लेखेको