बुबाको मुख हेर्ने दिनको उपलक्ष्यमा
एउटा भनाइ छ कि संसारमा सबैथोक हामी आफ्नो चाहनाले प्राप्त गर्न सक्छौं तर आमाबुबा ईश्वरीय वरदान हुन्।
आमा वात्सल्यमयी हुन्छिन्।सँधै मीठा- मीठा कुरा त गर्छिन् नै,मीठो-मीठो खुवाउँछिन् पनि । तर बुबा नीमको पात जस्तै तीता अवश्य हुन्छन् तर त्यो तीतोपनको तीक्ष्णताले नै हाम्रो जीवन एक दृश्यमान र उपलब्धिमूलक उचाइमा पुग्न सफल भएको हुन्छ।
कसले के भन्लान् अर्थात् यशअपयशको अलिकतिपनि परवाह नगरेर आफ्ना सन्ततिलाई यशस्वी बनाउन अहोरात्र खट्ने कोही धर्तिमा छन् भने उनै बुबा नै हुन्।अरू कोहीपनि हुन सक्दैनन्।
ईश्वरको वरदानस्वरूप नै मानिसले कर्मवीर,पुरुषार्थी,दृढनिश्चयी,सर्वहितैषी, सबैप्रति सहयोगी भावना राख्ने बुबा
हामी पाउँछौं । यस मानेमा म आफूलाई भाग्यमानी नै ठान्छु।
मेरा बुबाले मलाई बाल्यकालदेखि नै विभिन्न सामाजिक कार्यक्रमहरूमा आफूसँगै लिएर जानुहुन्थ्यो।जसलेगर्दा सानैदेखि मैले धेरै अनुभवहरू बटुल्न भ्याएँ । उहाँबाट थुप्रै प्रेरणा पाएँ । उहाँ एउटा राम्रो साहित्यकार, कलाकार भएर नै हुनुपर्छ त्यसैको केही अंश मभित्र वंशानुगत गुणको रुपमा आएको मलाई लाग्छ।उहाँले सधैं हामीहरूलाई जस्तोसुकै परिस्थितिमा पनि नडराइ नबिराइ अगाडि बढ्ने प्रेरणा दिनुहुन्थ्यो।
म आफूलाई निकै भाग्यमानी ठान्दछु कि मैले विभिन्न भूमिकामा सहभागी भएर उहाँसँग धेरै कुराहरु सिक्न पाएँ।
जीवनका प्रत्येक आरोह-अवरोहहरूमा,
प्रत्येक असहज परिस्थितिमा पनि सहजतापूर्वक संयमित रहेर कठिनाईहरूको सामना गर्न हामी बुबाबाट नै सिक्दछौं।
हामी धन्य छौं,मनग्य उहाँको माया पाएर।
हिन्दीमा दुई लाईन सुनाउँदै छु-
मार-मार कर पत्थर को एक जौहरी हीरा बनाता है
पिता की डाँट का मतलब हमें अब समझ आता है।