युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलका खेल पोर्चुगलको लिम्बनमा सुरु हुनुअघि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका दुई जनालाई कोरोना भाइरसको संक्रमण भएको छ। एट्लेटिकोले आगामी बिहीबार जर्मन क्लब आरबी लेइपजिगसँग अन्तिम आठमा प्रतिस्पर्धा गर्दै छ। कोरोना देखिएका अहिले आइसोलेसनमा बसेका छन्। क्लबका खेलाडी र स्टाफ क्वार्टरफाइनलका लागि लिस्बन पुगेपछि दुई जनालाई कोरोना देखिएको पुष्टि भएको हो। उनीहरुको शनिबार परीक्षण गरिएको थियो। क्लब आइतबार लिस्बन पुगेको थियो। अब कोरोना देखिएकासँग सम्पर्कमा आएकाको परीक्षण गरिनेछ। कोरोनाका कारण क्लबको अभ्यास तालिका प्रभावित भएको छ। यस्तै क्लबले नयाँ तालिका मिलाउनका लागि युइएफसँग समन्वय गर्ने जनाएको छ। कोरोनाका कारण लिगका क्वार्टरफाइनलदेखिका खेल नकआउटका आधारमा लिस्बनमा हुन लागेको हो। बुधबारको पहिलो क्वार्टरफाइनल पेरिस सेन्ट जर्मेन (पिएसजी) र एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार आरबी लेइपजिग र एट्लेटिकोबीच खेल हुने तय छ। शुक्रबार बार्सिलोना र वायर्न म्युनिख तथा शनिबार लियोन र म्यानचेस्टर सिटीबीच खेल हुनेछ।