नेपाल साच्चिकै सतीले सरापेको देश हो त ? यदि हो भने त्यो सरापबाट मुक्ति पाउने उपाय के ? यदि होइन भने बाजेले भनेको वाक्यलाई नातीले पनि किन भनि रहनु परेको छ ? किन एउटै वाक्य पुस्तौ देखि पुस्तान्तरण भई रहेको छ ? जलमग्न नदीहरु वर्षातको समय वाहेको दिनमा सुक्न थालिसके, कोशीमा वालुवा भरेर पानीको स्तर माथी उठि सके । चुरे अब एकादेशको कथामा सिमित हुने बेला आइ सकियो तर सतीले सरापेको देश यथावत आफ्नो स्थानमा जडा गाडेर बसेको बसैछ ।
तपाईलाई यो वाक्य अहिले असान्दर्भीक लाग्छ होला तर के गर्ने यथार्थलाई नकार्न त सकिन्न नि ? शैक्षिक, बौद्धिक, साहित्यिक, राजनैतिक, समिक्षक, आलोचक जस्ता विशिष्ठ व्यक्तित्वद्वारा बोलिने सभ्रान्त शैलीका शिष्ठ विशिष्ठ वाक्य तथा शब्दहरु आम जनमानसले बुझे पनि उनिहरुको दैनिक जिवनमा ती वक्यहरु स्थान पाउन सकेको छैन । उनिहरुको अफ्नै शब्द र शैली हुन्छ जस भित्र एकदमै सहज भावमा भन्ने गरिन्छ यो देश त सतीले सरापेको देश हो । यहाँ केही हुन सक्दैन वा जे पनि हुन सक्छ । अर्थात यहाँ नश्लवादी चिन्तन, सामाजिक, साँस्कृतिक, लैङ्गिक विभेदको अन्त्य, भ्रष्टाचार निर्मूल र शासकीय स्वरुप परिवर्तन हुन सक्दैन । त्यस्तै सत्ताधारी शासकले आफ्नो स्वार्थ अनुकुल जल, जंगल, जमिन, खनिज र विश्वमै गर्वोन्नत सर्वोच्च शिखर सगरमाथा समेत सझौताको किताकाटमा काटिदै देश नै विदेश नहुने भन्न सकिन्न । जसको ट्रेलर हामी देखि रहेका छौ । चिनको नक्सामा सगरमाथा देखियो, “रुइँ गाउँ चिनको कब्जामा” जस्तो समाचार आंशिक चन्द्र गहण जस्तै विहान हुँदा हुँदै समाचारको गोदममा थन्कियो किनभने नेपालका परराष्ट्र मन्त्री र चिनका राजदूत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै नेपाल चीन बीच कुनै सीमा विवाद नरहेको भनिसकेको छ । यता भारत संगको सीमा विवादको विषय मा धेरै बोलि रहनु पर्ने आवश्यकता छैन किनभने आफु गर्भमा रहँदा आमाको श्रवण शक्तिले सुन्दै आएको शिशु आफुले जन्माएको सन्तानको सन्तान समेतले हाप्ता पिच्छै न्यूज च्यानलको मुख्य खबरमा सुन्दै आइ रहेको छ ।
विपक्षी विहीन दुई तिहाई बहुमत प्राप्त स्थिर सरकार माथि तीन करोड नेपाली ठूलै आशा लिएर आफ्नो उज्जवल भविष्यको कल्पानामा निर्मला पन्त काण्ड, सुन काण्ड, ललिता निवास प्रकरण जस्ता अनेक काण्ड र प्रकरणलाई त्रिशूलीको माछा जस्तै तेलमा तारे नतारे पचाउँदै गयो । नेताहरुको ब्रह्मवाक्यको रुपमा कहलिएका पानी जहाज र घरघरमा ग्याँसको पाइप लाइन जस्ता चन्द्रमा जमिनमा नै झर्छ भन्ने दिवा स्वपनमा रमिदै अगाडि बढि रहेका थिए । किनकि सत्ता संजालले नेपाल अबको पाँच वर्षमा सिंगापुर बन्ने सत्य वचनलाई घर–घरमा पुर्याउन आफ्ना सम्पूर्ण शक्ति संचालन गरेका थिए ।
पाँच वर्ष त के दुई वर्ष पनि बित्दा न बित्दै सिंह दरबार भित्र रहेका क्रूर शासकका अतृप्त आत्माले सर्वहारा सरकारलाई आफ्नो बसमा लिई त्यही बाटोमा डर्याउन थाले । के हो कुन्नी कहाँबाट जोश जागेर होला विपक्षी पनि सलबलाउन शुरु भायो र केही अप्रत्याशित घटनाक्रम क्रमशः शीखर चढने बाटोमा छ ।
आफ्नै पार्टीबाट आलोचित सरकारको रबैया र भ्रष्टाचार प्रतिको आलोचना जनस्तरमा बहसको विषय बन्दै जँदा, जनताको ध्यान भटकाउन सरकारले काचुली फेरे झै विधेयक विवादलाई आफ्नो हथियार बनाए । जसको पहिलो कँम्पन मधेशवादी दलको एकताको रुपमा प्रकट भयो । राजनीतिमा जे पनि हुन सक्छ भने मान्यतालाई चरितार्थ गर्दै, हुनै न सकिने भनिएका राजेन्द्र महतो र उपेन्द्र यादवको जुगलबन्दी मधेशबादलाई अन्त्य गरी जनता समाजबादी हुँदै देशको स्वाभिमान रक्षार्थ नयाँ नक्सा जारीमा राष्ट्रिय एकता कायम गरेर सुच्चा राष्ट्रवादीको नयाँ पहिचान स्थापित गरि नेपालको इतिहासमा ऐतिहासिक घटनाका मुख्य पात्र बन्न कुनै कसर बाँकी राखेन । करिब एक सप्ताह सम्म नेता द्वय यादव र महतोको प्रशंसामुखी समाचार मुख्य समाचार बन्नु नेपालको इतिहासमा दोस्रो ऐतिहासक घटनाको रुपमा मुखरित हुनु अस्वाभाविक होइन । भारत विरुद्धको अभियानमा मधेशबादी दलको यो साहासिक कदमलाई सलाम गर्नेको टि आर पी बढेको देखेर होला शायद अंगिकृत नागरिकतामा सात वर्षे प्रावधान सहितको विवादित नागरिकता विधेयक पार्टीबाट बहुमतले पारित गराई आन्तरिक कलहमा देशलाई झोक्न प्रयास गरेको आम जनमानसको बुझाई रहेको छ ।
विश्व कोरोना महामारी, लकडाउनले सृजना भएको बेरोजगारी र बाढिपहिरोको त्रास जस्ता विषम परिस्थितिमा मधेशीलाई पुनः भारतीय बनाउने षडयन्त्रले २०७२ सालको नाकाबन्दी र एक दुई आँप झरेमा केही फरक पर्दैन भन्ने विषय स्थान पाउन थालेको छ ।
विवादित नागरिकता विधेयक माथि वाक्युद्ध र कलम युद्धले बजार तात्दै छ । न्युज च्यानल तथा समाजिक संजालमा हुने तर्क वितर्क त आ–आफ्नो वैयक्तिक स्वतन्त्रता हो । तर यस माथि भई रहेको कुतर्क अर्थात प्रतिक्रिया र टिकाटिप्पणीले निभ्न लागेको आगोमा घीउ हाल्ने काम अझै पनि जारी नै रहेको छ । अषाढे मौसम जस्तै ह्वातै गर्मी बढने र पानी पर्ने तथा अत्यधिक वर्षाले ठूलो बाढी आउने सम्भावना रहेकोमा सबै पक्षलाई सचेत हुनु अति आवश्यक रहेको छ ।