हिपमत डटकम
नयाँ दिल्ली,पुस-२२
नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का विद्यार्थीमाथि आइतबार राति भएको हिंसात्मक हमला ठूलो षड्यन्त्र भएको प्रहरीले जनाएको छ।प्रहरीले घटना छानबिन गरी ५० अज्ञात नकाबधारीविरूद्ध मुद्दा दायर गरेको छ। हालसम्म कोही पक्राउ भने परेका छैनन्।यसैबीच जेएनयूमा भएको हमलाको जिम्मवारी हिन्दु रक्षा दल नामक संगठनले लिएको छ। आफूलाई हिन्दु रक्षा दलका राष्ट्रिय अध्यक्ष बताउने भूपेन्द्र तोमर उर्फ पिंकी चौधरीले एक भिडिओ जारी गर्दै जेएनयू हमलाको जिम्मेवारी लिएको हो।भारतीय सञ्चारमाध्यमका अनुसार चौधरीले आइतबार राति जेएनयुका विद्यार्थी कुटेर हिंसा भड्काउनेहरू आफ्ना कार्यकर्ता भएको बताएका छन्।चौधरीले जेएनयु देशविरोधी गतिविधिको केन्द्र भएको बताउँदै यस्ता गतिविधिमा सहभागी हुने जोकोहीलाई यसैगरी जवाफ दिने बताएका छन्। जेएनयूलाई कम्युनिस्टको अड्डा भएको र त्यहाँ धर्मविरोधी कुरा हुने आरोप पनि उनले लगाएका छन्।जेएनयू विद्यार्थीहरूले यो हमलामा सत्तारुढ भाजपाको भातृ संगठन अखिल भारतीय विद्यार्थी परिषदको हात रहेको आरोप लगाएका थिए। परिषदका सदस्यले विश्वविद्यालयभित्रै घुसेर सांघातिक हमला गरेको त्यहाँको विद्यार्थी युनियनको भनाइ थियो।यो हमलामा विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष आयशी घोषसहित २३ जना विद्यार्थी घाइते भएका छन्।