हिपमत डटकम
काठमाडौं,पौष-२०
आज पुस २० गते आइतबार प्रकाशित सबैजसो मुख्य दैनिक पत्रिकाले सरकार र उखु किसानबीच भएको सम्झौता कार्यान्वयनको विषयलाई सम्पादकीय बनाएका छन् । किसानका विषयलाई विशेष प्राथमिकता दिएर दैनिक पत्रिकाले किसानसँग गरिएका सम्झौताका सबै बुँदा इमान्दारीपूर्वक कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।
आफ्नो उखु दिएबापत् चिनी उद्योगका मालिकले रकम भुक्तानी नदिएको भन्दै संघीय राजधानीमा आन्दोलनरत किसान र सरकारबीच भएको सम्झौता कार्यान्वनमा जोड दिँदै नागरिक दैनिकले ‘पालो सम्झौता कार्यान्वनयनको’ शीर्षको सम्पादकीय लेखेको छ । ‘बल सरकारको कोर्टमा छ । उसले चाह्यो भने चिनी उद्योगीहरुलाई कानुनी दायरमा ल्याएर किसानको बाँकी रकम भुक्तानी गराउनेमात्र हैन, कारबाहीसमेत गराउन सक्छ,’ सम्पादकीयमा भनिएको छ, ‘त्यसैले अब आफूले निमुखा किसानसमक्ष व्यक्त गरेका प्रतिबद्धता पूरा गरेर सरकारलाई आफू साँच्चै गरिब र विपन्न र किसानमैत्री छु भन्ने प्रमाणित गर्ने उपयुक्त अवसर समेत आयएको छ ।’ त्यसैगरी कान्तिपुर दैनिकले पनि ‘उखु किसान फेरि काठमाडौं आउनु नपरोस्’ शीर्षकमा सम्पादकीय लेख्दै सरकारले उद्योगीलाई जिम्मेवार बनाएर सम्झौता कार्यान्वनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ । ‘वर्षौ उधारोमा करोबार गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ सम्पादकीयमा भनिएको छ, ‘त्यस्तो वातावरण निर्माणका लागि उखु उद्योगीलाई जिम्मेवार बनाउन सरकार यो सम्झौता कार्यान्वयनमा दृढ हुुनुपर्छ । सम्झौता जुनसुकै हलतमा कार्यान्वन गराउनुपर्छ ।’
चिनी उद्योगी र उखु किसानबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै नयाँ पत्रिकाले ‘सहमति कार्यान्वनमा इमानदार बन’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– सरकारले अहिले किसानसित भएको उधारो सहमतिलाई छिटै नगदमा परिणत गर्न सकारात्मक पहल गर्न जरुरी छ । उद्योगीले पनि दम्भ परित्याग गरी किसानमैत्री व्यवहार गर्न ढिलो गर्नु हुँदैन ।