आइतबार, जेठ ३२, २०७७ || 1146  पटक पढिएको

दैलेख
कर्णालीमा कोरोना संक्रमितको व्यवस्थापनमा गम्भिर चुनौती देखिएको छ। संक्रमितहरु आइसोलेसन र क्वारेन्टाइन छाडेर सडकमा निस्कन थालेका छन्। यहीक्रममा प्रहरीले दैलेखमा संक्रमितमाथि लाठी बर्साएको हो। सडकमा निस्किएकाहरुलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दा चारजना संक्रमित घाइते भएका छन्।

दैलेखमा संक्रमितको संख्या धेरै भएपछि व्यवस्थापनमा सकस भएको छ। आफूहरुको व्यवस्थापनमा लापरबाही भएको, उपचार तथा परीक्षणमा ढिलाइ गरिएको र आइसोलेसनको नाममा क्वारेन्टाइनमै थुन्ने काम भएको भन्दै संक्रमितहरु आन्दोलित भएका छन्। विभिन्न माग राख्दै शनिवार नारायण नगरपालिकास्थित त्रिभुवन माविको क्वारेन्टाइनमा राखिएका संक्रमितहरु सडकमै निस्किए। प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई नियन्त्रणमा लिएको हो।

नारायण नगरपालिकाका विभिन्न वडाका कोरोना संक्रमितहरुलाई त्यही विद्यालयमा राखिएको छ। वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठका अनुसार २९ जना संक्रमितसहित ४३ जनालाई सँगै राखिएको छ। उनीहरु ३२ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि रिपोर्ट नआएको र घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् घाइतेहरुलाई सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेसन वार्डमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आन्दोलनमा उत्रिएका कोरोना संक्रमितका आफन्तले भने जनप्रतिनीधिहरुले नै लाठीचार्ज गर्न लगाएको बताएका छन्।

‘मेरै अगाडी प्रहरीले मेरो छोरालाई कुटे, घरबाट ल्याएको सामान नै छोरालाई दिन पाइँन’ स्थानीय सुर्यप्रसाद रेग्मीले भने,‘परीक्षण समयमै नगर्ने, स्कुलमै थुनेर कहिलेसम्म राख्ने हो ? राम्रो उपचार र रिपोर्ट छिटो निकाल्नु प¥यो भन्दा संक्रमितलाई नै निर्मम तरिकाले कुट्ने काम गरिएको छ, यो राज्यकै असफलता हो।’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले भने अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरिएको बताए। ‘संक्रमितहरु बजारमै निस्केर आन्दोलन गर्न थालेपछि थप संक्रमणको जोखिम भयो, हामीले सडकमा नआउन भनी सम्झाउँदा नमानेपछि दोहोरो झडप भएको हो।’

आन्दोलनमा उत्रिएका संक्रमितहरु लट्ठी लिएर बजारमा निस्केको र प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि लाठी चार्ज गर्नुपरेको प्रहरीको दाबी छ। दैलेखमा शनिवारसम्म संक्रमितको संख्या पाँच सय नाघेको छ। यसले उनीहरुको उपचार र व्यवस्थापन भद्रगोल बनेको छ। स्थानीय तहले थेग्न नसकेपछि संक्रमितहरु सडकमा उत्रिन थालेका हुन्। जिल्लाकै चुप्रामा पनि शनिवार संक्रमितले सडकमै निस्केर प्रदर्शन गरे। संक्रमितहरु चिसो भुइँमै सुत्न बाध्य छन्। डाक्टरको निगरानी, उपचार तथा औषधीको व्यवस्थासमेत छैन। यही कारण देखाउँदै संक्रमित आन्दोलित भएका हुन्।

कोरोना पुष्टि भएको दुई दिनपछि एउटा क्वारेन्टाइनबाट अर्को क्वारेन्टाइनमा पठाइएका डुङ्गेश्वर गाउँपालिकाका ३५ जना कोरोना संक्रमित पनि शनिवार आन्दोलनमा उत्रिए। खाना, बस्ने ठाउँ, शौचालय र पानीको असुविधा भएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। गाउँपालिकाले संक्रमितहरुलाई वडा नम्बर १ चुप्रास्थित त्रिवेणाी माविको राख्ने निणर्य गरेको थियो। सोही निर्णयअनुसार ३५ जनालाई शुक्रवार हिँडाएरै चुप्रा पठाइएको थियो। तर संक्रमितले त्यहाँ असुविधा भएको भन्दै आन्दोलन गरेपछि सिता माविमा लिएर राखिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए। अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!