हिपमत डटकम
काठमाडौं,मंसिर २६ गते ।
नेपाल भ्रमण वर्ष २०२० सचिवालय र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) बीच दुईपक्षीय समझदारी भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी प्रवर्धनका लागि विभिन्न ११ बुँदे समझदारी भएको हो ।
उक्त समझदारीपत्रमा भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेको टानले बुधबार जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्झौताको प्रमुख उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रमहरु आयोजना तथा संचालन गर्ने रहेको छ ।
टानका अध्यक्ष खुम बहादुर सुवेदीले स्वागत मन्तव्य दिँदै भ्रमण बर्ष नजिकिदै गर्दा टानले भ्रमण बर्षलाई सफल पार्न गर्दै आएका कामहरुको जानकारी गराएका थिए ।
बक्तब्यका क्रममा अध्यक्ष सुवेदीले भ्रमण बर्ष २०२० संख्यामा २० लाख मात्रै नभई धेरै भन्दा धेरै गुणस्तरीय पर्यटक भित्र्याई नेपालको आर्थिक बृद्धि हुने उद्देश्यका साथ टानले आफ्ना सदस्य कम्पनीहरुलाई ८ लाख पर्यटक भित्र्याउन उनुरोध गरेको जानकारी गराउनुका साथै भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन टानले सधैं साथ दिने प्रतिवद्धता जनाए ।
सो अवसरमा भ्रमण वर्ष सचिवालयका संयोजक वैद्यले भ्रमण वर्ष २०२० अभियान अन्त्य नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताएका थिए । उनले भ्रमण वर्ष अभियानले नीतिगत रुपमा मात्रै नभई युवालाई रोजगार सृजना गराउन मद्दत पुर्याउनेमा जोड दिएका थिए ।