शनिबार, चैत्र २२, २०७६ || 855  पटक पढिएको

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ । बैंकमा जम्मा भएका खाद्यान्न आजदेखि नगरका विपन्न परिवारलाई राहतस्वरुप वितरण गर्ने नगरपालिकाले जनाएको छ । नगरका अतिविपन्न परिवारलाई राहत उपलब्ध गराउन फुड बैंक स्थापना गरिएको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । “पहिलो चरणको प्याकेजमा सबै वडाले पहिचान गरेका अतिविपन्न परिवारलाई आजदेखि राहत वितरण शुरु गर्दैछौँ”, उहाँले भन्नुभयो, “वडाद्वारा छनोट भएका १३० अतिविपन्न परिवारलाई एक हप्ताका लागि खाद्यान्नसहित फुड बैंकमा उपलब्ध स्वास्थ्य सामग्री पनि वितरण गरिनेछ ।” दोस्रो चरणमा सडक, सिँचाइ, खानेपानीजस्ता निर्माणका क्षेत्रमा खटेका मजदूरको वडागतरूपमा लिइरहेको तथ्याङ्क आज बेलुकासम्म आउने भएकाले भोलिदेखि करिब एक हजार मजदुरलाई राहत वितरण शुरु गरिने नगरप्रमुख न्यौपानले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैलाई एकैपटक राहत उपलब्ध दिन नसक्ने भएकाले चरणबद्ध योजना बनाएका हौँ ।” उहाँका अनुसार लकडाउन लम्बिए सोहीअनुसार राहतको व्यवस्था गरी दोस्रो चरणमा वितरण गरिनेछ । नगरको राहत प्याकेजअन्तर्गत चार जनासम्मको परिवारलाई १० किलो चामल र त्योभन्दा बढी भएमा २५ किलो, दाल, आलु, गेडागुडी, नुन, तेल, बेसार, प्याज, लसुन, चाउचाउ, बिस्कुट, साबुन, चिनी, चियापत्ती, चिउरा, दालमोठलगायत १७ प्रकारका छन् । नगरद्वारा प्रत्येक वडामा राहत वितरण व्यवस्थापनका लागि वडाध्यक्षको संयोजकत्वमा सात सदस्यीय समिति पनि गठन गरेको छ । नपामा १२ वडा छन् । पनौतीस्थित इन्द्रेश्वर प्राथमिक विद्यालयमा फुड बैंक स्थापना गरिएको हो । वडास्तरमा राहत वितरणमा एक मिटरको दूरी कायम गर्ने नियम बनाइएको फुड बैंक व्यवस्थापन समितिका संयोजक रहनुभएका नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरले दैनिक उपभोग्य सामग्रीको तालिका बनाएर आफ्ना क्षेत्रमा रहेका किराना पसल, स्टोर तथा विक्रेता–आपूर्तिकर्ताको सूची तयार गर्नसमेत वडा कार्यालयलाई निर्देशन दिइएको छ । यसैबीच फुड बैंकमा राहत उपलब्ध हुने क्रम जारी रहेको बताइएको छ । शुक्रबार वाग्मती टिपर व्यवसायी सङ्घले फुड बैंकमा एक हजार २० किलो चामल, आत्मज्ञान प्रचारक सङ्घले नपाले तोकेको राहत सूचीअनुसार ३० परिवार र अनेरास्ववियु काभ्रेपलाञ्चोकले १० परिवारका लागि राहत उपलब्ध गराएको छ । “बैंकमा उपलब्धबाहेकका आवश्यक खाद्यान्न नपाले आफैँ खरिद गरी वितरण गर्दै जानेछौँ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!