बिहिबार, चैत्र २०, २०७६ || 888  पटक पढिएको

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण जिल्लामा बुधबार चैते अष्टमीका दिन कुनै पनि भगवतीका मन्दिरमा पशुबलि चढाइएन । केही मन्दिरमा एक÷दुई पुजारीले सामान्य पूजाआजा गरे पनि अन्य मन्दिरमा गत वर्षको जस्तो पूजापाठ र भिड लागेन । यहाँको स्थानीय प्रशासनले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन तथा स्थानीयवासीलाई जोखिमबाट बचाउन मन्दिरमा पूजाआजादेखि सार्वजनिक स्थलहरुमा भिड नगर्न आग्रह गरेपछि जिल्लामा रहेका कुनै पनि भगवती तथा कालीका मन्दिरमा पशुबलि नदिनुका साथै पूजापाठ नगरिएको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले गरेको लकडाउनसँगै सबै जिल्लावासी हप्तौँदेखि घरभित्रै छन्, त्यसमा पनि स्थानीय प्रशासनले पूजाआजामा भिडभाड नगर्नु भनेकाले जिल्लामा पशुबलि दिने काम रोकिएको हो ।” पशुबलि दिइने जिल्लाका प्रसिद्ध भगवती मन्दिरहरु सिलगढीको कालिका, केआइसिंह गाउँपालिका–५ केदारगाउँको भगवती थान, तिखाको कालढुङ्गा भगवती थान, निरौली भगवती थान, गड्सेरा भगवती, पिपल्ला भगवती थानलगायतका दर्जनौँ मन्दिर सुनसान भएको स्थानीयवासीहरुले जानकारी दिएकाछन् । विगतका वर्षमा विशेष महत्वका साथ चैते अष्टमी मनाउने यहाँका विभिन्न भगवती मन्दिरमा यस वर्ष कोरोनाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कुनै पशुबलि नदिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दिलीपसिंह देउवाले बताउनुभयो । “मन्दिरमा पशुबलि दिँदा मानिसको भिड हुने र रोगको सङ्क्रमण हुने आशङ्काले हामीले पशुबलि नदिन आग्रह गरेका थियौँ, हाम्रो आग्रहलाई सबै जिल्लावासीले पालना गर्नुभयो ।”, उहाँले भन्नुभयो । चैते दशैँमा जिल्लाका विभिन्न ठाउँमा मेला लाग्ने, पशुबलि चढाउने, चेलीबेटी माइत जानेलगायतका धार्मिक संस्कारका कार्य गर्दा मानिसको भीड धेरै हुने भन्दै स्थानीय प्रशासनको आग्रहमा यहाँका नौ वटै स्थानीय तहले भीडभाड हुने गरी तडकभडकका साथ चैते दशँै नमनाउन सूचना जारी गरेका थिए । सरकारले देशलाई लकडाउनको घोषणा गरेकाले त्यसमा सहयोग गर्न स्थानीय प्रशासन र स्थानीय तहले जिल्लामा मनाइने सबै चाडपर्व नमनाउन सूचना जारी गरेका छन् । कर्मचारीको बिमा गर्दै नगरपालिका जिल्लाको दिपायल नगरपालिकाले कोरोना भाइरस विरुद्धको अभियानमा खटिने स्वास्थ्यकर्मी, सवारी चालक, सरसफाइकर्मी र करार कर्मचारीको बीमा गर्ने भएको छ । कोरोना विरुद्धको अभियनामा सबैभन्दा बढी खटिने करार कर्मचारीको पनि बीमा गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकामा भएका स्थायी कर्मचारीको भने सङ्घीय सरकारले बीमा गर्ने यस अघि नै निर्णय गरिसकेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा खटिने सबै कर्मचारीको जोखिमलाई हेरेर रु आठ लाखदेखि १० लाखसम्मको बीमा गर्ने निर्णय गरिएको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘कोरोना सङ्क्रमण विरुद्धको अभियानमा खटिने कर्मचारी बढी जोखिममा पर्ने भएकाले हामीले बीमा गर्ने निर्णय गरेका छौँ, यसबाट कर्मचारीलाई पनि काममा खटिन हौसला मिल्ने छ ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!