इटहरी उपमहानगरपालिकाको वडा नंम्बर २० तरहरामा सरकारले थप गरेको ८ दिनको लक डाउन समयावधिभर खाद्यान्न अभाव नहुने भएको छ । सामाजिक जनउत्तरदायित्व वहन गर्दै सगुनले यो विषम परिस्थितिमा पनि सामुदायिक हितमा यो कदम आजदेखि चाल्दैछ ।
आम उपभोक्तालाई सहज बनाउन सगुन कृषि सहकारी संस्था लिमिटेडले आजबाट दिउँसो २ बजेदेखि ५ बजेसम्मका लागि अब तरहरामा संचालनमा रहेको आफ्नो सहकारी पसल (coop shop) खुल्ला राख्ने भएको छ ।
संस्थाका कार्य समिति अध्यक्ष टीका दत्त वनले दिएको जानकारी अनुसार, पसलबाट अत्यावश्यक खाद्यान्न र घरयासी, विशेषगरी भान्साको सामाग्री, बजार मुल्यमा नै उपलब्ध हुनेछन् ।
“यो लक डाउनको समय कुनै अतिरिक्त शुल्क थपेर होइन, स्थानीय उपभोक्तालाई खाद्यान्न र घरेलु वस्तु सहज रूपमा साबिककै बजारको मुल्यमा उपलब्ध गराएर यो बेला हामी आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै स्थानीय तहबाट सरकारलाई सहयोग गर्न चाहान्छौं ।”, अध्यक्ष वनले गोर्खा खबरसँग भने, “सहकारीको सामाजिक उत्तरदायीत्व अन्तरगत यो गरिएको हो ।”
उनले पसलमा “उपभोक्ता प्रवेशभन्दा पहिले हात धुने र त्यसपछि स्यानीटाइज गर्न अनिवार्य” गरिएको जानकारी दिएका छन् । त्यस्तै, स्वास्थ्य सुरक्षाका निम्ति सामाजिक दुरी कायम गरिने पनि दाबी गरे ।
पसलका कर्मचारीहरुलाई भने मास्क, ग्लोब र स्यानीटाजर उपलब्ध गराइएको, वनले जनाएका छन् ।
सगुनले लक डाउनको समयमा उपलब्ध गराएको यो सेवाले वडा नंम्बर २० का मात्र होइनन्, वडा नंम्बर १, २ र १९ लाई समेत राहत मिल्ने विश्वास गरिएको छ ।