कोरोना भाइरसका कारण सरकारले अह्वाान गरेको लकडाउनमा सप्तरीको सप्तकोसी नगरपालिकाले अति विपन्न परिवारको घर परिवार सङ्ख्यासहितको तथ्याङ्क विवरण सङ्कलन गर्ने भएको छ । दैनिक ज्यालादारीमा जीवीकोपार्जन गर्ने मजदुरहरु हुनसक्ने समस्यालाई हल गर्न वडाध्यक्षहरुमार्फत विवरण सङ्कलन गरी नगरपालिकामा पेश गर्न नगरप्रमुख उत्तमकुमार शर्माले सूचनासहितको पत्रचार गर्नुभएको छ ।विश्वव्यापी महामारीको रूपमा फैलिरहको कोरोना भाइरसका कारण सरकारद्वारा गरिएको लकडाउनका कारण विपन्न वर्गका नागरिकहरुमा पर्नसक्ने समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख शर्माले आआफ्ना वडाको विवरण उपलब्ध गराउन ११ वटै वडाका वडाध्यक्षहरुलाई पत्रचार गर्नुभएको हो । नगरपालिका वडा कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बन्धित सबै सरोकारवालाहरुले कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपायसम्बन्धी रातदिन जनचेतना अभियानमा खटिरहेको छ ।नगरपालिकाभित्र छिमेकी मुलुक भारतलगायत अन्य मुलुकबाट आउने मानिसका लागि नगरपालिकाको वडा नं २ को गोबैज माविमा २१ शय्या र वडा न १० को जनता मावि भगनी मलेटमा २१ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।