पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन बन्ने पक्का भएको छ । नगरपालिकाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि वडा नं १० को शिविर डाँडामा भवन निर्माण गर्ने पक्का भएको जानकारी गराएको हो ।
नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मोहनप्रसाद तुम्बापोले भवन निर्माणका लागि आवश्यक जग्गाको सम्पुर्ण भोगाधिकार प्राप्त भईसकेको जानकारी दिए । उनले सरकारी मापदण्ड अनुसार नगरपालिकाको भवन निर्माणका लागि चाहिने ०.४ हेक्टर अर्थात १२ कट्ठा जमिनको व्यवस्था भईसकेको हुनाले अब चाँडै भवन निर्माण प्रक्रियामा जाने जानकारी दिए ।
वन मन्त्रालय मातहतको उक्त जग्गाको पुर्ण स्वामित्व नगरपालिकामा ल्याउन १७ लाख ८८ हजार रुपैयाँ सम्बन्धित निकायलाई बुझाई सकिएको नगरप्रमुख तुम्बापोले जानकारी दिए । नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा प्रदान गर्ने नेपाल सरकार मन्त्री परिषदको निर्णय पछि नगरपालिकाले जग्गाको पुर्ण स्वामित्व प्राप्तिको लागि प्रक्रिया अगाडि बढाएको थियो ।
सो कार्यका लागि आवश्यक प्राविधिक तथा आर्थिक टेन्डर आह्वानको प्रक्रिया सँगसँगै अगाडि बढिरहेको नगर प्रमुख तुम्बापोले जानकारी दिए । वैशाख महिना भित्रै सम्झौता गरि निर्माण प्रक्रिया शुरु गरिने र दुई वर्ष भित्र अपाङ्गमैत्री , लिफ्ट सहितको ४ तले भवन निर्माण गरि सक्ने उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, लेखा शाखा प्रमुख पीताम्बर वस्ती लगायतको उपस्थिति रहेको थियो ।