काठमाडौँ । रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाभन्दा बढी भक्तजनले पूजाअर्चजना गरेका छन् । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आइतबार बिहान ४ः०० बजेदेखि अपराह्न ३ः३० बजेसम्म तीन लाख भक्तले पूजाअर्चना गरेका हुन् ।
मन्दिरमा बिहानैदेखि भक्ति सङ्गीत कार्यक्रम जारी छ । कार्यक्रममा रमेश पोखरेल, नारायण कोइराला, मनमोहन थपलिया, सङ्गीता प्रधान, रोशा फुयाँललगायत कलाकारले कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । मन्दिर आज (आइतबार) राति ९ः०० बजेसम्म दर्शनको व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ९ स्थित बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर वि.सं. १९२८ मा कम्याण्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षत्रीले स्थापना गरेको त्यहाँ रहेको शिलालेखमा उल्लेख छ । मन्दिर सञ्चालनका लागि उनले काठमाडौँका विभिन्न स्थानमा ३७३ रोपनी जग्गा गुठी राखेका थिए ।