मोरङ। मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरलाई ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उत्कृष्ट सहकारीकर्मीका रूपमा सम्मान गरिएको छ।
२०६६ सालदेखि सहकारी क्षेत्रमा सक्रिय रहेका ठाकुरले व्यवस्थापन, सुशासन तथा विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। विभिन्न पदीय जिम्मेवारी सम्हाल्दै सहकारी आन्दोलनलाई सशक्त बनाउने क्रममा पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मान प्रदान गरिएको हो।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश सरकार, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेश इनरुवा, सुनसरीको आयोजनामा भएको कार्यक्रममा ठाकुरलाई सम्मानित गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि डा. शरन कुमार पाँडेसहित विभिन्न सहकारीकर्मी तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
ठाकुरको नेतृत्वमा सद्भाव बचत तथा ऋण सहकारी संस्थाले स्थानीय स्तरमा वित्तीय पहुँच विस्तार, आर्थिक सशक्तीकरण तथा सहकारी संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ।