विराटनगर।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा लागू औषध दुर्व्यसन विरुद्द सुधारका लागी शिविर अभियान कार्ययोजना अन्तरगत छलफल,अन्तरक्रिया तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ ।
चैत्र ११ गते अपरान्ह भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले सेवनकर्ता तथा अति सेवनकर्ताहरुलाई अस्थायी रुपले होल्डिङ् सेन्टरमा राखी मनोसामजिक परामर्शकर्ताहरुबाट परामर्श उपलव्ध गराई उपचारात्मक पद्दतिबाट समाजमा पुनर्स्थापन गराउने उद्देश्यका साथ सुधारका लागि शिविर (Camp For Correction-CFC) को परिकल्पना गरी कार्यान्वयन गर्न लागिएको बताउनु भएको थियो ।
उक्त कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश प्रहरी कार्यालयले लागू औषध दुर्व्यसन विरुद्द सुधार कार्यक्रमको योजनाले अपेक्षाकृत प्रतिफल उपलव्ध हुने विश्वास व्यक्त गर्नु हुदै कोशी प्रदेशमा दुर्व्यसन विरुद्द सुधार कार्यक्रम कार्यान्वयनको लागी प्रदेश सरकार प्रतिबद्द रहेको र कोशी प्रदेश प्रहरी कार्यालयले समाजमा शान्ति सुरक्षा स्थापना गर्न बिभिन्न प्रकारका योजना बनाई कार्य गर्दै आएकोमा प्रदेश सरकारको तर्फबाट सदैव साथ सहयोग रहने वताउनु भयो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दुर्गा प्रसाद दाहालले कोशी प्रदेश प्रहरी कार्यालयको लागू औषध दुर्व्यसन विरुद्द सुधार कार्यक्रमको कार्य योजना, कोशी प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यात्मक विवरण, लागु औषको जोखिम न्यूनिकरण, दुर्व्यसन रोकथाम, उपचार तथा पुनर्स्थापना, लागु औषध दुर्व्यसनबाट हुने क्षेति लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने कार्यक्रममा कोशी प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी तथा प्रदेश सचिव राम प्रसाद आचार्यले समेत आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेश प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी सहित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।