विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट र मोरङको लेटाङ फुटबल क्लब प्रतिस्पर्धा गर्ने भएका छन्। विराटनगर जुटमिल खेल मैदानमा आइतबार हुने फाइनल खेलमा दुवै टोली पहिलो पटक मिल्स गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्।
प्रतियोगिताको फाइनलअघि दुवै टोलीका प्रशिक्षकहरूले उपाधि जित्नका लागि आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्। लेटाङले क्वाटरफाइनलमा आयोजक लागिगुराँस स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–२ गोलले र सेमिफाइनलमा घरेलु टोली पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यस्तै, उदयपुरले क्वाटरफाइनलमा सप्तरीको प्रोग्रेसिभ युवा क्लबलाई १–० गोलले र सेमिफाइनलमा इटहरी टीएफसी तालतलैयालाई ५–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
गाइघाटका प्रशिक्षक विशाल राईले प्रतियोगितामा पहिलो पटक सहभागी हुँदै फाइनलमा पुगेको र उपाधि जित्ने लक्ष्य रहेको बताए। लेटाङका प्रशिक्षक इन्द्र राईले पनि फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ। विधागत पुरस्कार जनही ३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ। चैत ३ गतेबाट सुरु भएको प्रतियोगितामा एक भारतीय टोलीसहित कोशी प्रदेशका ८ टोलीको सहभागिता रहेको थियो।