बिराटनगर ।मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू पदार्थ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०६ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारी मोरङको संयुक्त टोलीले बेलबारी नगरपालिका-४ का ४३ बर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० बर्षीय सुशिल मोतेलाई घरबाटै लागूऔषध बिक्रिवितरण गरीरहेको अवस्थामा १७ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर र ६१ हजार ६ सय ४० रुपैया सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिराटनगर महानगरपालिका-१६ स्थितबाट मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २४ बर्षीय नेत्र बहादुर खनालको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधी ६० एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी अस्थाई प्रहरी बिट बुढीखोलाबाट खटिएको प्रहरी टोलिले सुनसरी ईटहरी उप-महानगरपालिका-४ स्थितबाट इटहरी-१० का २५ बर्षीय सविन श्रेष्ठलाई ट्रमाडोल १ सय ९० ट्यावलेट सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागू पदार्थ सहित पक्राउ परेका उनिहरुको सम्बनधमा थप अनुशन्धान भईरहेको छ ।