विराटनगर ।नारी दिवसको अवसर पारेर विराटनगरमा ‘गल्स अन ह्विल’ प्रतियोगिता आयोजना गरिने भएको छ। विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा फागुन २४ गते प्रतियोगिता सम्पन्न हुनेछ।बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले पाँचौं संस्करणको प्रतियोगिता हुने जानकारी गराएको छ। प्रतियोगितामा महिलाहरूले मात्र भाग लिन पाउनेछन्। एक स्कुटरमा दुई जनाको दरले कुल १०० स्कुटर सहभागी गराउने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष भास्कर सोनीले जानकारी दिए। प्रतियोगितामा सहभागी हुन १,५०० रुपैयाँ दर्ता शुल्क लाग्नेछ।
प्रतियोगिता विराटनगरको विभिन्न १० स्थानमा आयोजना गरिनेछ, जहाँ प्रत्येक स्थानमा संकेतका आधारमा टास्कहरू पूरा गर्नुपर्नेछ। टास्क पूरा गरेबापत प्रतियोगीहरूले नम्बर प्राप्त गर्नेछन्, जसको आधारमा विजेता घोषणा गरिनेछ।
सिटी प्यालेसबाट सुरु हुने प्रतियोगिता त्यहीँ पुगेर सम्पन्न हुनेछ। प्रतियोगिताका विजेताले नगद ६० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्, भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः ४० हजार र २५ हजार नगद पुरस्कार तथा अन्य उपहार प्राप्त गर्नेछन्। प्रतियोगितामा मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिने आयोजक समितिले जनाएको छ। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, फुड स्टल, फेस पेन्टिङजस्ता गतिविधिहरू रहनेछन्।