सिरहा। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिर्चैया उप-शाखा कार्यालयमा आबद्ध ५१ जना अभिकर्ताहरूलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने पुनर्ताजगी तालिम प्रदान गरेको छ।
तालिममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाले बीमा अभिकर्ता कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूलाई इमान्दारिताका साथ कार्य गर्न आग्रह गरे। साथै, उनले कम्पनीले सर्वसुलभ, लाभदायक तथा नवीनतम बीमा योजनाहरू ल्याइरहेको जानकारी दिए। तालिमका क्रममा प्रमुख झाले बीमाको परिभाषा, प्रकार, फाइदा, आवश्यक सावधानी तथा कम्पनीका सेवासुविधाबारे सहजिकरण गरेका थिए।
त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स मिर्चैया उप-शाखा प्रमुख गणेश कुमार ठाकुरले बीमा व्यवसायको आवश्यकता र महत्वबारे जानकारी दिँदै इमान्दारिताका साथ कार्य गरेमा अभिकर्ता पेशाबाट नाम, दाम र सम्मान सबै प्राप्त गर्न सकिने बताए।
तालिममा सहभागी अभिकर्ताहरूले बीमा सम्बन्धी ज्ञान हासिल गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवाका लागि प्रतिबद्धता जनाएका छन्।