विराटनगर। विद्यार्थीहरूको क्षमता विकास गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि महानगरस्तरीय अन्तर सामुदायिक आधारभूत विद्यालय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले पाठ्यपुस्तकको अध्ययनसँगै विद्यार्थीले बाहिरी ज्ञान पनि हासिल गर्नु जरुरी रहेको औंल्याउनुभयो । उहाँले हरेक शुक्रबार महानगर क्षेत्रका विद्यालयलाई ‘बुक फ्रि डे’ का रुपमा अघि सारिएको जानकारी दिनुभयो ।
शुक्रबार पाठ्यपुस्तकको अध्ययनभन्दा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउने नीति अघि सारिएको उहाँको भनाइ थियो । ‘रुचीअनुसार शुक्रबार विद्यार्थीले आफूलाई प्रस्तुत छन् । खेलकुदमा रुची भएकाले खेलकुदमा भाग लिन्छन् । साहित्यमा रुची भएकाले साहित्य सिर्जना वाचन गर्छन् । गीतसंगीतमा रुची भएकाले गीत गाउँछन्,’ मेयर कोइरालाले भन्नुभयो, ‘यसले आफ्नो रुचीअनुसार विद्यार्थीले आफूलाई निखार्छन् ।’
अध्ययनसँगै अन्य क्षेत्रमा लागेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा विद्यार्थी र अभिभावले बुझ्नु जरुरी रहेको उहाँले बताउनुभयो । मेयर कोइरालाले प्रविधिमैत्री शिक्षालाई महानगरले जोड दिइरहेको उल्लेख गर्नुभयो । व्यवहारिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू सिर्जना हुने उहाँको भनाइ थियो । वडा नम्बर १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन निरौला, प्रअ नेत्रप्रसाद पराजुली, जिल्ला शिक्षा शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौला, शिक्षक ऋषि खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका ५४ वटा विद्यालयका विद्यार्थी सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले २१, द्वितीय हुनेले १५ र तृतीय हुने विद्यालयले १२ हजार र सान्त्वनाले ६० हजार नगद राशिसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहभागी सबै विद्यालयलाई ट्रफीका साथमा स्टेशनरी सामग्रीसमेत प्रदान गरिनेछ । प्रतियोगिता विगत ७ वर्षदेखि जारी रहे पनि यसपटकदेखि भने रनिङ शिल्डका रुपमा सुरु भएको हो । अब प्रथम हुनेले १६ तोलाको चाँदीको जलप र महानगरको लोगो कुँदिएको शिल्ड प्राप्त गर्नेछ । लगातार तीनपटक प्रथम हुने विद्यालयले सो शिल्ड सधैंका लागि प्राप्त गर्ने प्रतियोगिताको संयोजन गरेको विराटनगर–७ स्थित बाल मन्दिरका प्रधानाध्यापक नेत्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । महानगरले यसअघि लोकनृत्य प्रतियोगिता र वृहत विज्ञान प्रदर्शनी सम्पन्न गरिसकेको छ ।