बिराटनगर | चर्चित युट्युवर तथा पत्रकार भाग्य न्यौपानेलाई पारस हस्पिटल, बिराटनगरले एक विशेष समारोहका बीच सम्मान गरेको छ। न्यौपानेले पत्रकारिता मार्फत असहाय तथा पीडित नागरिकलाई सहयोग गर्दै आएका छन्। उनको त्यही समाजसेवामूलक योगदानको कदर गर्दै पारस हस्पिटलले सम्मान प्रदान गरेको हो।
सम्मान कार्यक्रममा पारस हस्पिटलका संचालक तथा डबल गोल्डमेडलिस्ट डा. सफिउर रहमानले भने, “भाग्य न्यौपानेले पत्रकारितालाई सामाजिक सेवासँग जोडेर समाजका धेरै पीडित नागरिकलाई सहयोग पुर्याउनु भएको छ। उहाँको यो कार्य प्रशंसनीय छ र यसले अरूलाई पनि समाजसेवामा प्रेरित गर्नेछ।”
सम्मान ग्रहण गर्दै भाग्य न्यौपानेले आफ्नो पत्रकारिताको यात्राका क्रममा समाजसेवामा जोडिन पाएकोमा खुसी व्यक्त गरे। उनले भने, “यो सम्मानले मलाई अझ बढी जिम्मेवार बनाएको छ। पीडित र असहायलाई सहयोग गर्ने मेरो अभियान जारी रहनेछ। पारस हस्पिटलले गरेको यो सम्मान केवल मेरो लागि मात्र होइन, मानवताको सेवामा समर्पित सम्पूर्ण पत्रकारिता जगतका लागि प्रेरणादायी छ।”
पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अभियान सञ्चालन गर्दै आएको जानकारी गराउँदै भने, “हामीले स्वास्थ्य सेवामार्फत मात्रै होइन, समाजसेवा मार्फत पनि बिरामी, असहाय तथा आर्थिक अभावका कारण उपचार गर्न नसक्ने बिरामीहरूलाई सहयोग गर्दै आएका छौं। भाग्य न्यौपानेजस्तो व्यक्तित्वलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।”
पारस हस्पिटलले स्वास्थ्य क्षेत्रमा मात्र नभई समाज सेवामा पनि उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। बिरामीहरूलाई राहत प्रदान गर्ने, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा विपन्न वर्गका बिरामीहरूलाई उपचारमा विशेष छुट प्रदान गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ।
उक्त कार्यक्रममा पारस हस्पिटलका निर्देशक लक्की अनसारी, लेखा प्रमुख इमरान अनसारी, लगायतको उपस्थिति रहेको थियो।