हिपमत डटकम

बिहिबार, माघ २४, २०८१ || 4810  पटक पढिएको

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनबाट गगन थापा महामन्त्री भएपछि काङ्ग्रेस पार्टीको सांगठनिक,सैद्धान्तिक र वैचारिक रुपरेखामा के कति परिवर्तन आयो? नेताकार्यकर्ताको कार्यशैली र कार्यक्षमतामा गुणात्मक परिवर्तन र रुपान्तरण आयो आएन? गगन थापा महामन्त्री हुनुभन्दा अघि र पछी काङ्ग्रेस पार्टीको समग्र आयमिकता कति फराकिलो र गुणात्मक भयो? समिक्षात्मक रूपमा थुप्रै प्रश्न उठ्न थालेका छन्।

उनको महामन्त्री अवधिमा परिवर्तनका संकेत देखियो या देखिएनन्। महामन्त्री बनेपछि गगनले भन्ने गरेको पार्टी नेतृत्वमा पुस्तान्तरणको बहाब लागु हुँदैछ? यथार्थत् उनले नेपाली काङ्ग्रेसमा लामो समयदेखि जरा गाडेर बसेको व्यक्तिवादी सोच र गुटवादी संस्कृतिलाई चिर्न असफल भए। बरु उनी आफैं पनि गुटवादी संस्कृतिबाट बाहिर निस्किन सकेनन्,परिबन्ध हुनसक्छ जो १५औं महाधिवेशनमा सभापतिको तयारीमा जुटेका छन्।

अंशमा अतितको गह्रौ र गुणिलो गगनको वजन हुँदै गर्दा सारत्वमा अहिले गगनमा कहिँ न कहिँ सैद्धान्तिक र वैचारिक स्खलन देखिन्छ। नेपाली काङ्ग्रेसको वैकल्पिक सभापति र नेपाल सरकारको निर्विकल्प प्रधानमन्त्री हुनुपर्छ भन्ने ठाउँमा पुगेका गगनको राजनीतिक उचाइ साँघुरिँदै गएर अब रास्वपा सभापति रवि लामिछानेको प्रतिस्पर्धी बन्न पुगेको हो कि पो जस्तो देखिन्छ।

किर्तिपुरको डाँडामा ल्यापटप चलाएर ३ लाख मासिक कमाउन सकिन्छ भनेर आधुनिक विज्ञान र प्रविधिको युग र सम्भावनालाई बोल्ने महामन्त्री राजनीतिक हिसाबले भने काङ्ग्रेस भित्रको परम्परागत पुरानो संस्कृतिमै ओझेलमा परेको जस्तो लाग्छ। कुनै राजनीतिक दलमा जब कुनै व्यक्ति वा गुटको हाबी हुन्छ अनि दलले राजनीतिक विश्वास र उचाई प्राप्त गर्न सक्दैन। १४औँ महाधिवेशनबाट महामन्त्री विजयी भएपछि उनले नेपाली काङ्ग्रेसको संगठनलाई जसरी हाँक्नुपर्ने थियोे र पार्टीलाई जुन उचाइमा लैजानुपर्ने थियो,त्यसरी हाँक्न सकेनन्।

पार्टीलाई कहिले प्रचण्ड र कहिले ओलीको अधीनस्थ बनाए। गगन नेपाली काङ्ग्रेसको महामन्त्रीभन्दा पनि कहिले शेखर कोइराला गुटको महामन्त्री,कहिले प्रचण्डको महामन्त्री,कहिले दाईभाउजूको महामन्त्री र कहिले ‘बा’वादका महामन्त्री बनिरहेर कार्यकाल बिताइरहेका छन् कि जस्तो आभास देखिन्छ। नेपाली काङ्ग्रेस जस्तो गर्विलो इतिहास बनाएको पुरानो र जिम्मेवार राजनीतिक दलको महामन्त्रीमा त सिङ्गो नेपाली राजनीतिकै जवाफदेहीता र जिम्मेवारीबोध हुनुपर्नेमा त्यो हुन सकेन। अहिलेको राजनीतिक वृत्तमा उदाएका काठमाडौको मेयर बालेन भन्दा दर्हो र बलियो त्यो हौसला उत्साह र आशा जगाउने युवानेताको पब्लिक ब्रान्ड व्यक्तित्व गगन थापा शिथिल भएको राजनीतिक वृत्तमा देखिएको वास्तविकता हो।

उनले व्यवस्था परिवर्तनको लागी नेतृत्व गर्दै सडकमा “गणतन्त्र जिन्दावाद!” “राजतन्त्र मुर्दावाद!” घन्काएर सिङ्गो काङ्ग्रेस पार्टीलाई गणतन्त्रको बाटोमा डोर्याउने हिम्मत राखेको त्यो ऐतिहासिक पदचापलाई निरन्तर परिस्कृत गरिरहेका छन र? नेपाली जनताको चम्किलो नक्षत्र नेताको उपमा बनाएको त्यो ओजमा स्थिरता छ र? प्रश्न गगन माथी काङ्ग्रेसको कार्यकर्ताको मात्र हैन नेपाली जनताले गगनलाई २०४६ सालदेखि नेपाली राजनीतिका थुप्रै घटना र परिघटनाहरू झेल्दै र भोग्दै आइरहेका आशावादी नेता हुन् भनेर विश्वास गरिरहेकै अवस्था थियोे र छ।

उनी यतिबेला निराशाको अन्धकारमा धिपधिपे बत्ती बन्न सक्नुपर्छ। उनले अब सामाजिक सञ्जाल र सञ्चारमा आएर मोटामोटा अक्षर र ठुलोठुलो स्वर निकाल्दै कार्यकर्तालाई हरिको कसम खान लगाएर ‘हुन्छ त हुन्छ’ भन्दै घाँटी सुकुन्जेल आदर्शका पोका खुलाउनुको कुनै अर्थ र औचित्य छैन जस्तो लाग्छ।

उनी औपचारिक कार्यक्रमहरुमा बेस्सरी भनिरहेका हुन्छन् ८४ होइन, ८१ मै गर्ने हो भन्छन् तर ओलि नेतृत्वको सरकारले आम नेपाली जनताको जनजीविकाको पक्षमा सिन्को भाँचेको देखिँदैन।

खै त ०८१ मै गरेको ? अर्कालाई दोष देखाएर गगन उम्किन सक्दैनन्। आफ्नो हातमा राज्यसत्ताको साँचो आउँदा केही गर्न नसक्ने अनि अरुलाई दोष देखाएर उम्किन मिल्छ र ? आफूले पार्टी र सत्तामा गएर केही गर्न नसकेको आफैँले बारम्बार स्वीकार गरेका छन्। उनी अरुतिर प्रश्न गरिरहेका हुन्छन् तर ती प्रश्नले गगन आफैँलाई गिज्याइरहेका छन्।

गगनले गर्ने र बोल्ने हरेक क्रियाकलाप नियालिरहेका आम नेपालीले प्रश्न गरिरहेका छन्— नेपाली काङ्ग्रेसको महामन्त्रीले गर्न सक्दैन भने गर्ने कसले हो त ? अझै पनि नेपाली काङ्ग्रेस पार्टी भित्र पुस्तान्तरण र रुपान्तरणको पक्षधर युवापंक्तिका नेताकार्यकर्ताको आदर्शवान युवानेताको चिनारी फगत बोली र भाषणमा मात्र सिमित राखेर राजनीति चलाइरहने हो र ? महाधिवेशनमा नवीन मुद्दा उठाएर आफ्नो दललाई एउटा निश्चित मोड र उचाइमा लैजान सक्नुपर्ने हैन र ? दलीय परिपाटीमा सरकारमा को–को मन्त्री छन् भन्दा पनि कुन दलका मन्त्री छन् भन्ने महत्त्वपूर्ण प्रश्न हुन्छ र सरकारको सम्पूर्ण अपजस सम्बन्धित दलले नै लिनुपर्छ।

आज गगन किन यो गरुँगो भारी बोक्न तयार छैनन् र जनताका प्रश्नको उत्तर दिन चाहिरहेका छैनन्? नेपाली काङ्ग्रेसमा दलको महामन्त्री चानचुने पद होइन। गगन नै महामन्त्री हुँदा पनि केही परिवर्तनको अनुभूति हुँदैन भने कसको आशमा जनताले यिनै र यस्तैलाई बोकिरहने र विश्वास गरिरहनुपर्ने हो र ? यही तरिका नै हो भने नेपाली काङ्ग्रेसलाई सच्याउने र पार्टीलाई थप बलियो बनाउन र आम नेपाली जनताका समस्या समाधान गर्न गगन सक्षम छन् भनेर के आधारमा विश्वास गर्ने ? गगनले गर्छु र गर्नुपर्छ मात्र भन्ने होइन,गरेर देखाई सक्नुपर्ने हो,किनकि अहिले पार्टी र सत्ता दुबैको नेतृत्व तहमा आफैं छन्।

 

नेपाली काङ्ग्रेसको मुख्य गन्तव्य भनेको प्रजातान्त्रिक समाजवाद हो तर नेपाली काङ्ग्रेस पार्टी सँगै गगन थापाले सैद्धान्तिक धरातल बिर्सिएर अहिले पार्टी फुलिए जस्तो देखिए पनि दीर्घकालीन रूपमा पार्टीको राजनीतिक छबि खुम्चिँदै र साँघुरिँदै प्रचण्डपथ हुँदै ‘बा’वादको बाटोमा दिशाहिन रुमल्लिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
hipamatmedia@gmail.com

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!