पथरीशनिश्चरे।लिम्बु समुदायको पवित्र स्थल मुकुम्लुङमा केबुलकार निर्माणको विरोधमा आन्दोलन गरिरहेको किराँत याक्थुङ चुम्लुङका नेताहरु अझै ससक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । मोरङको पथरीशनिश्चरेमा शनिबार सम्पन्न किरात याक्थुङ चुम्लुङ्ग पथरी नगरसमितिको चौथो अधिवेशनमा सम्बोधन गर्दै चुम्लुङका कोशी प्रदेश सचिव दिलु लावति लिङ्देनले सरकारले पाथीभरामा केबुलकार निर्माण गरि लिम्बु समुदायको पवित्र धार्मिक स्थल मुकुम्लुङको ईतिहास मेट्न खोजेको भन्दै अझै ससक्त आन्दोलन गर्ने उद्घोष गरिन ।
उनले सरकारले बलप्रयोग गरि लिम्बु समुदायको धार्मिक आस्था र सम्पदामाथि प्रहार गरेको उल्लेख गर्दै सबैलाई मुकुम्लुङ बचाउ अभियानमा लाग्न आग्रह समेत गरेकी छिन । पथरीको सिरिजंगा धार्मिक वन परिसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी लिम्बुले कोशी प्रदेश नाम खारेजीको अभियान जारि रहेको भन्दै राजनीतिक परिवर्तनको लडाइँमा साथ दिन सबैलाई आग्रह गरिन । पाथीभरा क्षेत्रमा आन्दोलनका क्रममा पक्राउ परेका चुम्लुङका ३ जना सहयोद्दाहरुलाई बिनासर्त रिहाई गर्नुपर्ने उनको माग थियो ।
कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ मोरङका अध्यक्ष डम्बर कुरुम्बाङ्गले सरकारले आन्दोलनरत पक्षसंग वार्ता गर्नुको सट्टा केहि सांसदहरूसंग मात्रै छलफल गर्नु दु:खद रहेको बताए । सरकारले एक जना व्यक्तिको प्रभावमा परि पाथीभरामा केबुलकार निर्माण गर्न लागेको जिकिर गरे । लिम्बु समुदायले आफ्नो धर्म , संस्कृति र पहिचान रक्षाको निम्ति राजनीति भन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने कुरुम्बाङ्गको भनाई थियो ।
पाथिभरामा केबुलकार निर्माणको काम रोक्नुपर्ने माग सहित आन्दोलनमा उत्रिएको मुकुम्लुङ्ग संरक्षण तथा केबुलकार खारेजी संघर्ष समितिले मंगलबारदेखि मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ भित्रिने यातायात बन्द गराएका छन् भने भोलि र पर्सि ताप्लेजुङ , ईलाम , पाँचथर , झापा , मोरङ , सुनसरी , धनकुटा , तेह्रथुम र संखुवासभा जिल्लामा समेत बन्द आव्हान गरिएको छ ।