बेलायतको लन्डनमा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृतकहरु बाबुछोरी रहेकाे बताइएको छ भने उनीहरु भारतीय मूलको बेलायती भएको बताइएकाे छ ।हिथ्रो विमानस्थलको टर्मिनल थ्रीमा कार्यरत अध्यागमन अधिकारी सुधीर शर्माको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो ।६१ वर्षीय शर्मा अन्य रोगका समेत बिरामी रहेको बताइएको छ ।
गत जनवरी ७ बाट कोरोनाको संक्रमण भएका शर्मालाई अन्यत्रबाट कोरोना संक्रमण भएको बताइएको छ । यसैगरी उनकी छोरी ३३ वर्षीय पूजा शर्माको पनि पिताको निधनको अर्को दिन निधन भएको हो ।
पूजा फार्मेशिष्टको रुपमा कार्यरत रहेको बताइएको छ । अस्पताल भर्ना भएको ३ दिनमा पूजाको निधन भएको थियो भने बाबुछोरीको २४ घन्टाको अन्तरमा निधन भएको द सन् पत्रिकाले बताएको छ । शर्मा वेष्ट लण्डनको हंस्लोमा बस्दै आएका थिए ।
हिथ्रो विमानस्थलको आसपासमा रहेको हस्लो क्षेत्रमा एशियनहरुको बाहुल्यता रहेको छ । यस क्षेत्रमा भारतीय र नेपालीको बसोवास रहँदै आएको छ ।
सुधीरकी श्रीमतीलाई अहिले आइसोलेशनमा राखिएको छ । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५९ पुगिसकेको छ ।
जसमा २ जना नेपाली समेत रहेका छन् ।
एक नेपाली महिला भने उपचारपछि डिस्चार्ज भएकी छिन् ।