बिराटनगर।सुनसरीको बर्जु गाउँपालिका-६, कोलहरुवा खेल मैदानमा नेपाल सरदार बाँतर तिला सङ्क्राईत (माघी) महोत्सव समितिद्वारा आयोजित तिला सङ्क्राईत (माघी) पर्व शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न भएको छ। बाँतर सरदार समुदायले आफ्नो परम्परागत महान पर्वलाई कुल देवता गेंड सिंहको पूजा गरी धुमधामका साथ मनाएका हुन्।

कार्यक्रममा बाँतर सरदार समुदायका मानिसहरूले माघ १ गते सरदार (मुखिया) को घरमा सामूहिक रूपमा गेंड सिंहको पूजा गरे। पूजा सम्पन्न भएपछि सुंगुरको बलि चढाएर त्यसको प्रसादस्वरूप सामूहिक भोजको आयोजना गरिएको थियो। बाँतर सरदार जातिको परम्पराअनुसार गेंड सिंहलाई चमत्कारी देवता मानिन्छ। ऐतिहासिक रूपमा गेंड सिंहले नीलगाई मारेको पापबाट समुदायलाई मुक्त गरेको विश्वासमा आधारित यो पर्व विशेष रूपमा मनाइन्छ।

कार्यक्रममा बाँतर सरदार उत्थान केन्द्र सुनसरीका जिल्ला सभापति लक्ष्मी सरदार बाँतरले यो पर्वले समुदायको सांस्कृतिक एकता र पहिचानलाई बलियो बनाएको बताए। समाजसेवी तथा जातिका अगुवा सुकुमेदेव सरदार बाँतरले बाँतर समुदायका संस्कार र परम्परालाई संरक्षित गर्न सबैजना जिम्मेवार हुनुपर्ने बताए।

प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालका सचिव चन्दन सरदार बाँतरले बाँतर समुदायको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै, गेंड सिंहको चमत्कारले समुदायलाई नयाँ परम्परा स्थापना गर्न प्रेरित गरेको बताए।

महोत्सवमा संघीय सरकारकी पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य भगवती चौधरीले “हाम्रो संस्कृति नै हाम्रो पहिचान हो। संस्कृति हाम्रो जीवनशैली, परम्परा र सामाजिक मूल्यमान्यतासँग गहिरो रूपमा जोडिएको छ,” भन्दै संस्कृति संरक्षण र प्रवर्द्धनका लागि समुदायलाई थप जागरुक हुन आग्रह गरिन्। उनले यस पर्वले समाजमा एकता र सामूहिकता प्रवर्द्धन गरेको उल्लेख गर्दै बाँतर समुदायको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न आवश्यक रहेको बताइन्।

कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रामदेव यादवले बाँतर संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक विकासमा योगदान गर्न सकिने बताए। “संस्कृति र पर्यटनको सम्बन्धले समुदायलाई सबल र समृद्ध बनाउने सम्भावना छ,” उनले भने।

कार्यक्रमका अध्यक्ष तथा आयोजक समितिका अध्यक्ष सिताराम सरदार बाँतरले यो पर्वले बाँतर समुदायको मौलिक परम्परा झल्काउने मात्र नभई समाजमा एकताको सन्देश दिएको बताए। कोषाध्यक्ष लालि सरदार बाँतरले गेंड सिंहको चमत्कारको कथा प्रस्तुत गर्दै तिला सङ्क्राईत (माघी) पर्वलाई समुदायको ऐतिहासिक महत्वको प्रतीकको रूपमा व्याख्या गरे।

यस महोत्सवमा सांस्कृतिक झाँकी, परम्परागत नाचगान र शुभकामना आदानप्रदान कार्यक्रमले समुदायको पहिचान झल्काएको थियो। महोत्सवमा स्थानीयवासीका साथै अन्य समुदायका व्यक्तिहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो।

यो महोत्सवले बाँतर सरदार समुदायको परम्परागत पर्वलाई संरक्षण गर्दै पर्यटन विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको रंजित सरदार बांतरले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!