बिराटनगर। सुनवर्षी नगरपालिका वडा नं ५ ले आफ्ना वडा क्षेत्रभित्रका पाँच सामुदायिक विद्यालयलाई करिब एक लाख रुपैयाँ बराबरका खेलकुद सामग्री हस्तान्तरण गरेको छ।
खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा नगरप्रमुख श्याम राजबंशी, प्रमुख प्रशासकीय अधिकृत किशोर मण्डल, वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर, वडा सदस्यहरू, विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति थियो।
श्री गुलेश्वरी आधारभूत विद्यालय, श्री जनता आधारभूत विद्यालय, श्री विष्णु आधारभूत विद्यालय, श्री रामजानकी आधारभूत विद्यालय र श्री मदरसा विद्यालयका बालबालिकाहरूलाई खेलकुद सामग्री प्रदान गरिएको हो।
वडा अध्यक्ष ठाकुरका अनुसार, “खेलकुद सामग्रीले बालबालिकाको शारीरिक र मानसिक विकाससँगै विद्यालयमा उनीहरूको उपस्थिति बढाउन सहयोग पुर्याउनेछ। यसले विद्यार्थीहरूको टिफिन समयमा विद्यालयबाट भाग्ने प्रवृत्तिमा पनि कमी ल्याउनेछ।”
विद्यालयहरूले पिङ, चिप्लेटी, चर्खाल लगायतका खेल सामग्री प्राप्त गरेका छन्। विद्यालयका प्रधानाध्यापकहरूले यस कदमले विद्यार्थीहरूलाई विद्यालयको वातावरणमा रमाउन र शिक्षामा ध्यान केन्द्रित गर्न प्रेरणा दिने बताएका छन्।
सुनवर्षी वडा नं ५ ले नगरभित्रको शैक्षिक स्तर उकास्न ठोस योजना कार्यान्वयन गर्दै आएको र आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।