बिराटनगर। कास्कीमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी प्रकरणमा ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट आजबाट कास्की जिल्ला अदालतमा बहस सुरु भएको छ।
न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, डा. नारायण घिमिरे, नारायणदत्त कँडेल, हरि सुवेदी र रोहितराज पराजुली लगायतका कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन्।
यसअघि प्रतिवादीमध्येका छविलाल जोशी बन्जाडे र लीला पछाइका तर्फबाट कानुन व्यवसायीले बहस गरिसकेका छन्। स्रेष्तेदार राजन खनालका अनुसार मङ्गलबार वा बुधवारसम्म प्रतिवादीहरूको बहस सकिने अपेक्षा छ।
जवाफी बहसपछि अदालतले प्रतिवादीहरूलाई साधारण तारेखमा रिहा गर्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गर्नेछ।
सूर्य दर्शन सहकारी प्रकरणमा रवि लामिछानेसहित ४४ जनाविरुद्ध ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ। यसअघि २०८० असोज १८ गते जिल्ला सरकारी वकिलको कार्यालयले १९ जनाविरुद्ध ठगी अभियोगमा मुद्दा दायर गरेको थियो। पुस २ गते सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको थप अभियोग दर्ता गरिएपछि पूरक अभियोगसहित प्रतिवादीको संख्या ६६ पुगेको छ।
अदालतले सहकारीको अपचलनमा एक अर्ब ५१ करोड बिगो दाबी गरेको छ। सरकारी वकिल कार्यालयले पुस ७ गते पूरक अभियोग दर्ता गरेको थियो।