विराटनगर ।विराट मेडिकल कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा विजिता अर्याल प्रथम भएकी छन् ।‘विराट फिस्टा–२०२४’ अन्तर्गत शनिबार आयोजित कविता प्रतियोगितामा ‘आजको आज’ शीर्षकको कविता प्रस्तुत गरेर विजिता प्रथम भएकी हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक र कवि डा. सूर्य पराजुली (एसपी लोचन) सदस्य रहेको निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो ।
प्रतियोगितामा ‘खाली आँगन अनि हराएका खुसीहरू’ कविता वाचन गरेर श्रद्धा दाहाल द्वितीय हुँदा ‘गाँजा र मेरो देशको वेदना’ कविता वाचन गरेर जेनिशा परियारले तृतीय स्थान हासिल गरे । ‘सोच’ शीर्षकको कविता वाचन गर्ने हर्षवर्धन सिंह र ‘जनस्वास्थ्य एक समकालीन मुद्दा’ शीर्षकको कविता प्रस्तुत गरेर स्मृति अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
मेडिकल कलेजमा एमवीवीएस, विएससी नर्सिङ, नर्सिङलगायत विभिन्न विभागमा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र प्रतिस्पर्धी क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक डा. सूर्य पराजुलीले जानकारी दिए । कार्यक्रममा प्रमुख निर्णायक नवोदितले मेडिकल अध्ययन गरेका व्यक्ति पनि साहित्य, गीतसंगीत र कला क्षेत्रको माथिल्लोस्तरमा पुगेको बताए ।
नेपाली साहित्यमा थुप्रै चिकित्सकहरू पनि साहित्य, कला र गीतसंगीतमा रहेको चर्चा गर्दै नवोदितले पाठ्यक्रमभित्रको अध्ययनसँगै बाहिर ज्ञानलाई पनि फराकिलो बनाउन आग्रह गरे । साहित्यिक अध्ययनमार्फत ज्ञानको भण्डारलाई वृहत्त बनाउन सकिने उनको विचार थियो । कार्यक्रममा कलेजका विद्यार्थी विपास्ना खरेल, साजन यादव, गौरव विकलगायतले गीत र अप्रतियोगी सिर्जना वाचन गरेका थिए ।
विराट फिस्टाअन्तर्गत कलेजले कविता प्रतियोगितासहित खेलकुद, हाजिरीजवाफलगायतका विभिन्न कार्यक्रम आयोजना गरेको छ । सबै प्रतियोगिताका विजेतालाई सोमबार कलेजले विशेष समारोह आयोजना गरेर पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गर्नेछ । कलेजले गत वर्ष पनि विराट फिस्टा आयोजना गरेको थियो ।