काठमाडौं।नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर २१ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका ५ जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा. केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल रहनुभएको छ ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्याएको सेवा, कार्यदक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदीय दायित्व र मर्यादा बढ्दै जाने हुँदा पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा रहेका विभिन्न प्राविधिक समूहले पुर्याएको सेवाको प्रशंसा गर्दै नेपाल प्रहरीले प्रदान गर्ने प्राविधिक सेवालाई थप व्यावसायिक, परिष्कृत, सुदृढ र प्रभावकारी बनाउन पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र समुन्नतीको लागि केन्द्रित गरेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप प्रेरित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. केदार खड्गीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।