प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङ परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पूर्वाधारहरूको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउन कटिवद्ध रहेको बताउनुभयो । ग्रामीण भेग र शहरी भेगमा विभेद नगरी सुरक्षा प्रदान गर्न आवश्यक पूर्वाधार विकासका लागि नेपाल प्रहरीले पहल गरिरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले र जिल्ला समन्वय समितिका प्रमुख चिन घले ले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १२ करोड १०  लाख ५४ हजार ३ सय ३१ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!