विराटनगर।नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागी विराटनगर किङ्सका खेलाडी तथा पदाधिकारीले शनिबार साँझ विराटनगरको शक्तिपीठ काली मन्दिरमा पुगी विजयको कामना गरेका छन् ।
विराटनगरमा जारी प्रशिक्षणका क्रममा टोलीका खेलाडीहरू मन्दिरमा पुगी पूजा आराधना गरेका हुन् । खेलाडीहरूसँगै टोलीका सञ्चालकहरू पारस लुनियाँ, सुयश प्याकुरेल, राजेश बगडिया र अनुज पौदार पनि मन्दिरमा उपस्थित थिए । यसअघि टोली शुक्रबार साँझ विराटनगर–१ पोखरीयास्थित परोपकारधाममा पनि पुगेको थियो ।
कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किङ्समा सन्दिप लामिछाने, प्रतिश जिसी, वसिर अहमदलगायतका चर्चित खेलाडीहरू छन् । आयरल्याण्डका केभिन ओ ब्रायन टोलीका मुख्य प्रशिक्षक छन् ।आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा हुने एनपीएलमा विराटनगर किङ्ससहित ८ वटा टिमको सहभागिता रहनेछ ।