विराटनगर।आभा फाउन्डेशन नेपाल र राष्ट्रिय कला सेवा संस्था भारतको संयुक्त आयोजनामा आगामी पुस ५ र ६ गते बहुभाषी अन्तर्राष्ट्रिय कवि सम्मेलन, सांस्कृतिक कार्यक्रम र फेशन शो हुने भएको छ ।
आयोजक संस्थाहरूले नेपाल पत्रकार महासंघ मोरङ शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय भोजपुरी संगम नेपाल २०२४ को नाममा आयोजना हुने यस कार्यक्रममा नेपाली, भोजपुरी, थारु, मैथिली, मगही, अवधी लगायतका भाषाभाषीको सहभागिता रहने आयोजकले जनाएका छन् ।
फाउन्डेशनकी डाइरेक्टर आभा अनुपमाले विभिन्न जातजाति र भाषाभाषीको सांस्कृतिक विविधतालाई प्रदर्शन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा हुने यस कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रबाट कलाकारहरूको सहभागिता रहनेछ ।
राष्ट्रिय कला सेवा संस्था भारतका राष्ट्रिय महासचिव संजयकुमार पाण्डेले ३० वर्षदेखि विभिन्न देशहरूमा यस्ता कार्यक्रम गर्दै आएको र नेपाल र भारतको सम्बन्ध निकट रहेकोले यसपटक नेपालको विराटनगरमा कार्यक्रम आयोजना गरिएको बताए ।