विराटनगर।मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ स्थित पूर्व-पश्चिम राजमार्गको बक्रा पुलमा आज बिहान भन्सार छली ल्याइएको मालसामानसहित एउटा अटो रिक्सा नियन्त्रणमा लिइएको छ ।
प्राप्त जानकारी अनुसार, को १ ह ६३०९ नम्बरको अटो रिक्सा पश्चिमबाट पूर्वतर्फ आइरहेको थियो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अटो रिक्सा जाँच गर्दा ठूलो परिमाणमा लेडिज टप्स र कुर्ता सुरुवाल फेला परेको थियो ।
प्रहरीले बरामद गरेको सामानको अनुमानित मूल्य ३ लाख ३७ हजार ६ सय रुपैयाँ रहेको छ । साथै, नियन्त्रणमा लिइएको अटो रिक्साको मूल्य करिब २ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
यस घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ र बरामद गरिएको सामानसहित भन्सार कार्यालय रानीमा बुझाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।