काठमाडौं — आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आइतबार नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ। नेपालले सुरुका २ खेल गुमाएको हुँदा यस खेलमा जित निकाल्ने लक्ष्य राखेको छ।
पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनको अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा पनि ओमानसँग १ विकेटले हार स्वीकार्नुपरेको थियो। लिग २ को दोस्रो सिरिजमा ६ खेलमा नेपालले केवल १ जित हात पारेको छ र २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।
यता, क्यानडाले १० खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ र घरेलु सिरिजमा अपराजित रहँदै लिग २ को शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ।